महासमितिमा पनि देउवाकै बर्चस्व


काठमाडौं, (नेस)
चर्को विरोधका बाबजुद १४ दिन बसेको केन्द्रीय समिति बैठकबाट सहजै निस्कनुभएको कांग्रेस सभापति शेरबहादुर देउवाले अब जेठ अन्तिम साता हुने जिल्ला सभापतिको राष्ट्रिय भेला र भदौमा हुने महासमिति बैठकमा चर्को आलोचना खेप्नुपर्ने छ।

आन्तरिक गुटउपगुटमा विभाजित नेपाली कांग्रेसभित्र स्थानीय, प्रान्तीय र संघीय तीनै तहको निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि सभापति शेरबहादुर देउवाको क्षमता र कार्यशैलीमाथि प्रश्न चि≈न उठाउँदै चर्को आलोचना गरे पनि निर्णय भने सभापति देउवाविरुद्ध हुन सकेको छैन। सभापति देउवाले दुई वर्षपछि भए पनि पदाधिकारी मनोनयन सहज ढंगले अनुमोदन गराउनुभएको छ। केन्द्रीय समितिमा सभापति देउवा पक्षको बहुमत छ।

जिल्ला सभापतिहरूको भेलामा पनि केन्द्रीय नेतृत्वको चर्को आलोचना हुने भए पनि पार्टी नेतृत्वविरुद्ध निर्णय हुने सम्भावना देखिँदैन। जिल्ला सभापतिहरूमा पनि सभापति देउवा पक्षकै बहुमत छ। जिल्ला सभापतिको भेलाले पार्टी विधान संशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मूल्यांकन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी ठोस प्रस्ताव तयार पार्ने काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनुभएको छ।

केन्द्रीय समितिभन्दा माथिल्लो निकायका रूपमा रहेको महासमिति बैठकमा पार्टीभित्रको आन्तरिक विवाद छताछुल्ल हुने भए पनि महासमितिमा प्रस्तुत हुने एजेन्डा र निर्णय भने संस्थापन पक्षविरुद्ध नहुने देउवा निकट केन्द्रीय सदस्यले बताएका छन्।

जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भ्रातृ र शुभेच्छुक संस्थामार्फत रायसुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधनलगायत विषयमा निर्णय गर्न केन्द्रीय समितिले महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको हो।

महासमिति सदस्य, केन्द्रीय सदस्य, जिल्ला सभापति तथा विदेशमा रहेका प्रतिनिधिसमेत गरी करिब ३ हजार २ सय प्रतिनिधि सहभागी हुने महासमितिमा पनि सभापति देउवा पक्षको बहुमत छ। साथै महासमिति बैठकमा प्रस्तुत हुने एजेन्डा केन्द्रीय समितिले तय गर्ने भएकाले पनि सभापति देउवा नडराएको उहाँ निकट केन्द्रीय सदस्यहरू बताउँछन्। केन्द्रीय समितिमा पदाधिकारी मनोनयन गर्दा अनुमोदन गर्ने बेला विधानविपरीत भनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका निर्वाचित केन्द्रीय सदस्यले बैठक बहिष्कार गरे पनि सभापति देउवाले बहुमतबाट पदाधिकारी अनुमोदन गराउनुभएको थियो।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला गुट छ। साथै प्रभावशाली नेताहरूको छुट्टाछुट्टै उपगुट पनि छ।