खाल्डाखुल्डी पुर्दै महानगर


ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं महानगरपालिकाले असार महिनाभित्र आफ्नो कार्यक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ। त्यसका लागि कामपाले २५ करोड रुपियाँ छुट्टयाएको छ। वर्षात्मा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो।

कामपा भौतिक पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले एक महिनाभित्र सबै सडकको खाल्डाखुल्डी पुर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सबै वडालाई बजेट उपलब्ध गराइसकेका छौं, धमाधम काम गरिरहेका छन्। हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ। तीमध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन्। अहिले संघ, प्रदेश र स्थानीय सरकार गठन भइसकेको अवस्थामा कामपाको स्वामित्वमा कति सडक पर्छ भन्ने विषयमा निर्णय भइनसकेको अवस्थामा कामपाले आफ्नो स्वामित्वमा पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्न लागेको हो।

त्यसका लागि सबै वडा कार्यालयले काम शुरू गरिसकेका छन्। मेलम्ची खानेपानी परियोजनाले पाइप बिच्छ्याउँदा कामै नलाग्ने बनाएको सबै सडक सडक विभागको सहयोगमा कामपाले सडक मर्मत शुरू गरेको हो। विभागीय प्रमुख थापाले असार मसान्तभित्र राजधानीका सबै सडकको खाल्डाखुल्डी पुरिसक्ने जानकारी दिनुभयो। कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले राजधानीको सडकलाई व्यवस्थित बनाउन पहिलो चरणमा खाल्डाखुल्डी पुर्ने बताउनुभयो।

उहाँले आफ्नो स्वामित्वमा पर्ने सबै सडक मर्मत र निर्माण र खाल्डाखुल्डी पुर्ने काम भइरहेको जानकारी दिनुभयो। उहाँले खाल्डाखुल्डी पुर्ने मात्रै होइन ढल, मंगाल निर्माणलगायतका काम गरिरहेको जानकारी दिनुभयो। वर्षात्को समयमा काठामाडौंको सडकलाई व्यवस्थित बनाउन धमाधम मर्मत र निर्माण गर्ने काम भइरहेको उहाँको भनाइ थियो। उहाँले ४ सय ३१ वटा योजना तयार गरी सबै वडा कार्यालयलाई बाटो निर्माण, र खाल्डाखुल्डी पुर्न निर्देशन दिइसकेको बताउनुभयो।

पहिलो प्राथमिकता बाटो, ढल निर्माण र खाल्डाखुल्डी पुर्ने भएकाले कामपा भौतिक पूर्वाधार विकास विभागले सबै योजना वडालाई योजना हस्तान्तरण गरिसकेको छ। कामपाको स्वामित्वमा रहेका चावहिल, मैतीदेवी, बौद्धलगायतका अधिकांश भित्री सडकहरू कामै नलाग्ने गरी भत्किएको छ। भत्केका सडकलाई टेन्डरमार्फत निर्माण गर्न र खाल्डो भएका सडकलाई तत्काल पुर्न सबै वडाले बजेट विनियोजन गरिसकेको कामपाको भनाइ छ।
उता भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर दास मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रमको तयारीलाई महानगरले तीव्रता दिएको छ।

प्रधानमन्त्री काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था तथा सरसफाइ, स्वागत द्वार निर्माण, सडक किनाराका पोलमा झन्डा राख्ने रंगरोगन तथा सरसफाइमा महानगरको ध्यान छ।

कामपाले मोदीको भ्रमणलाई व्यवस्थित गर्न १८ वटा उपसमिति गठन गरेको छ। भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई व्यवस्थित गर्न सम्पूर्ण महानगरवासीले सहयोग गर्नुपर्ने कामपाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सधै नागरिकलाई जस्तो सेवा दिएको छौं, त्यसलाई थप व्यवस्थित गर्न लागेका हांै।’

भारतका प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम रहेको छ। वैशाख २९ गते दिउँसो साढे २ बजे काठमाडौं महानगरपालिकाले प्रधानमन्त्रीलाई गर्ने नागरिक अभिनन्दन तथा नगरको साँचो बुझाउने कार्यक्रमका लागि भारतीय प्रम मोदी राष्ट्रिय सभागृहमा पुग्नुहुनेछ। सो कार्यक्रममा मोदीले करिव ४५ मिनेट समय बिताउनुहुनेछ। कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरबासीका तर्फबाट नागरिक अभिनन्दन प्रदान गर्नुहुने कायक्रम तय भएको छ।