कर्मचारी हेरफेरलाई तीव्रता दिँदै सरकार


काठमाडौं, (नेस)
विगतमा झैं सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरलाई तीव्रता दिएको पाइएको छ।

करिब तीन दर्जन सचिवको हेरफेरसँगै कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लो पटक १८ जना सहसचिवको सरुवा गरेको हो।
यसअघि गृह मन्त्रालयअन्तर्गतका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो। त्यसको एक सातापछि १८ सहसचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

नीति निर्माण तहमा महŒवपूर्ण भूमिका हुने सहसचिवको सरुवा गरेर कर्मचारी क्षेत्रमा विगतकै सरकारको झझल्को दिन खोजेको कर्मचारी वृत्तमा चर्चा छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायका सहसचिवको व्यापक फेरबदल र सरुवा गरेको हो। कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नेत्रप्रसाद सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ।
यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, उद्योग मन्त्रालयका मधुसूदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा, निर्वाचन आयोगका दिनेशकुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, निर्वाचन आयोगकै नवराज ढकाललाई उद्योग मन्त्रालयमा र सामान्यको अतिरिक्त समूहका कुमारप्रसाद दाहाललाई विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ। दाहाललाई केही दिनअघि मात्रै वाणिज्य विभागको महानिर्देशकबाट हटाइएको थियो।

यसै गरी सामान्यको अतिरिक्त समूहमा रहेका वेदबहादुर कार्कीलाई केन्द्रीय पञ्जीकरण विभागमा, राष्ट्रिय सर्तकता केन्द्रका प्रमिलादेवी शाक्यलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा, सामान्यको अतिरिक्त समूहमा नै रहेका गंगाराम गेलाललाई निर्वाचन आयोगमा, रक्षा मन्त्रालयका आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समूहमा सरुवा गरिएको कार्यालयले जनाएको छ।

त्यसै गरी राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईंलाई रक्षा मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका कुलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा, वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठलाई राष्ट्रिय महिला आयोगमा, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका टीकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा, सामान्यको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवालीलाई काठमाडौं महानगरपालिकामा र सामान्यको अतिरिक्त समूहमा रहेका विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको कार्यालयले जनाएको छ।