डा. टीकाराम पोखरेल
आजकल सामाजिक सञ्जाल र अनलाइन मिडियाहरूमा केही नेताहरूलाई राजनेता भनेर सम्बोधन गरेको निकै देखिन्छ। त्यसो त हरेक क्षेत्रमा काम गर्नेहरूलाई चाकरी र गुलामी गर्न वरिष्ठ विशेषण लगाउने चलन पनि हामीकहाँ नयाँ होइन। कति त आफ्नो क्षेत्रमा बामे सर्न मात्र थालेकाहरू पनि वरिष्ठ कहलाउन लालायित छन्। वरिष्ठ भनिदिनेहरू पनि लर्को लागेर लाइनमा बसेका छन्। वरिष्ठ राजनीतिज्ञ, वरिष्ठ साहित्यकार, वरिष्ठ पत्रकार, वरिष्ठ मानव अधिकारकर्मी, वरिष्ठ कलाकार, वरिष्ठ लेखक, वरिष्ठ प्राध्यापक, वरिष्ठ चिकित्सक आदि हरेक क्षेत्र वरिष्ठले गाँजेको छ। यही शृङ्खलामा अब वरिष्ठ सवारीचालक, वरिष्ठ कुचिकार, वरिष्ठ सूचीकार, वरिष्ठ मजदुरको अभ्यासतर्फ समाज उन्मुख छ। यस्तै हो भने केही समयपश्चात् वरिष्ठ बेरोजगार, वरिष्ठ गरिब, वरिष्ठ पैदलयात्री, वरिष्ठ चोर, वरिष्ठ डाका, वरिष्ठ अपराधी, वरिष्ठ अल्छी, वरिष्ठ रोगी, वरिष्ठ निमुखा, वरिष्ठ पीडित र वरिष्ठ पीडकहरूको पनि अभ्यास नहोला भन्न सकिन्न। त्यसो भयो भने यो देश कनिष्ठ उन्मूलन देशको रुपमा विश्वमा चिनिनेछ।
प्रसंग फेरि राजनेतातिरै बदलौँ। कुनै व्यक्ति राजनेता हुनका लागि के–के चाहिन्छ, त्यो त न राजनेताको पगरी गुत्नेलाई थाहा छ, न गुताउनेलाई नै थाहा छ। तर आजकल केहीले आफूलाई मन परेको नेतालाई राजनेताको पगरी गुताइदिन्छन्। कतिले त आफूलाई मनदेखि मन नपरेको नेता नै भए पनि चाकरीका लागि भाषणमा पगरी गुताउँछन्। हाम्रो राजनीतिक मैदानमा अनौपचारिकरुपमा राजनेताको उपाधि धेरैले पाइसकेका छन्। राजनेताको पगरी त जनताले गुताइदिनुपर्ने हो। तर यहाँ त एउटा नेताले अर्को नेतालाई अझ भनौँ पार्टीको भ्रातृ संगठनमा आबद्ध पत्रकारले आफू सम्बद्ध दलको गुटको नेतालाई राजनेता भन्छन्। एउटाले पगरी गुताउँछ, अर्कोले बुझ्दै नबुझी हो मा हो मिलाउँछ र ताली बजाउँछ।
जब मानव सभ्यताको विकास भयो तब विश्वमा नेतृत्वको विकास भयो। कालान्तरमा नेतृत्वको होडबाजी नै हुन थाल्यो। विज्ञान र प्रविधिको विकाससँगै हरेक क्षेत्रमा आफ्नो नेतृत्वमा प्रभुत्व जमाउने होडबाजीसँगै नेतृत्वको समर्थन र आलोचना पनि हुन थाल्यो। समय–समयमा कतिपयले समाजलाई आफ्नो नेतृत्वमा परिवर्तन गरेर उदाहरणीय बने र राजनेता कहलाए भने कतिपय नेतृत्व गर्नेहरू विनाशको संवाहक बने। त्यस्ता व्यक्ति राजनेता हुन सकेनन् मात्र होइन इतिहासमा बरु कलंकित भए।
राजनेता हुनका लागि केही गुणहरू हुनु आवश्यक छ। त्यो गुण प्रक्रिया र आदर्शबाट भन्दा पनि नेताको नेतृत्वबाट प्राप्त हुने परिणामले देखाउँछ। सर्वप्रथम त के भ्रमबाट मुक्त हुनुपर्छ भने, कुनै पनि दल विशेषको नेता राजनेता हुन सक्तैन, गुट विशेषको नेता त झनै राजनेता हुने कुरै भएन।
त्यसैले राजनेता हुन त देश र जनताको मुक्ति र समृद्धिका लागि नेतृत्व लिएर सफल हुनुपर्छ। संसारमा जति पनि व्यक्तिले राजनेताको उपमा पाएका छन् ती सबैले कि त राजनीतिक परिवर्तनको नेतृत्व गरेर, कि त देशलाई आर्थिक समृद्धिको चुचुरोमा पु¥याएर राजनेताको उपमा पाएका छन्। माओ, गान्धी, मण्डेलाजस्ता नेताले राजनीतिक परिवर्तनको नेतृत्व गरेर र देङ साओ पिङ, डा. मोहम्मद महाथिर र ली कान युजस्ता राजनेताले आार्थिक क्रान्तिको नेतृत्व गरेर राजनेता भएका हुन्। तर नेपालको समसामयिक राजनीतिमा राजनेताको दौडमा रहेका नेताहरूले न त राजनीतिक परिवर्तनको सर्वसम्मत नेतृत्व लिएका हुन्, न त आर्थिक क्रान्ति नै गरिसकेका छन्। जर्ज वासिङ्टन, अब्राहम लिंकन, भ्लादिमिर लेलिन, फिडेल क्यास्ट्रो, विस्टर्न चर्चिलजस्ता जनप्रिय नेता पनि हामीकहाँ छैनन्। त्यसैले वर्तमान जो जसलाई राजनेताको पगरी गुथाइएको छ, ती सबैलाई पगरी भारी भएको छ।
राजेतामा प्रतिबद्धता, समर्पण, साहस, सही योजना, कार्यान्वयन, दूरदृष्टि, स्पष्टता र ज्ञान हुनुपर्दछ। भाषणकला र उत्प्रेरणा क्षमता पनि राजनेता हुनको लागि सहयोगसिद्ध हुन्छ नै। देश र परिस्थितिअनुसार केही कुरामा फरक भए तापनि माथिका गुणहरू भने विश्वव्यापी नै हुुन्। नेपालको सन्दर्भमा विकासको माध्यमबाट देशलाई समृद्धितर्फ लैजान सक्ने नेता नै यति बेला राजनेता बन्न सक्ने वातावरण छ। आफू त्यागी भएर जनतालाई देखाउने भन्दा पनि देश र जनतालाई समृद्ध बनाउने व्यक्ति आवश्यक छ।
राजनेता हुनको लागि महत्वपूर्ण सर्त हो राष्ट्रभक्ति। राष्ट्रवादी नभई कुनै पनि नेता राजनेता हुन सक्तैन। ऊ जनप्रिय र लोकप्रिय त झनै हुनै पर्दछ।
राजनेता कसैलाई कज्याएर हुँदैन, बरु अरूलाई रिझाएर हुन्छ। आफ्ना पछाडि लामो लर्को लगाएर राजनेता हुँदैन, आफ्नो विचारमा सबैलाई डो¥याउन सके मात्र राजनेता हुन्छ। अरूलाई थर्काउने राजनेता हुँदैन, बरु सबैलाई फकाउने राजनेता हुन्छ। राजनेता देशको हरेक समस्यालाई समाधानमा बदल्न सक्ने हुनुपर्दछ। एउटा राजनेतामा सही राजनीतिक भिजन, मिसन, गोल चाहिन्छ। समयको क्रमसँगै राजनेतामा विशिष्ट ज्ञान, अध्ययन र अनुभव पनि आवश्यक ठान्न थालिएको छ। आचरण, संस्कार, प्रस्तुति, दैनिकी, संगत, सहयोग आदि कुरा पनि राजनेताको जीवन चरित्रलाई उजिल्याउने कुरा हुन्। हाम्रो समाज त्याग र उत्सर्गलाई बढी खोजी गर्छ। तर त्याग र उत्सर्गभन्दा पनि भ्रष्टाचार, दुराचार, व्यभिचार, अनियमितता, अधिकारको दुरुपयोग नगर्ने गुण भएमा त्याग र बलिदानी नहुँदा पनि कुनै व्यक्ति राजनेता बन्न सक्छ। राजनेताले देशमा सदाचार, न्याय र शान्तिको लागि काम गर्नुपर्छ। सबैभन्दा पहिले ऊ आफैँ परिवर्तन भएर देखाउन सक्नुपर्छ। अरूलाई उपदेश दिएर कोही पनि राजनेता हुन सक्तैन।
कुनै पनि नेता राजनेता हुन सक्ने वा नसक्ने भन्ने कुरा उसको दीर्घकालीन योजनाले निर्धारण गर्दछ, न कि अल्पकालीन भाषणले। वर्तमान समय र परिस्थितिको आँकलन गरी वर्तमानमा टेकेर भविष्यको निर्माण गर्न सक्नु नै राजनेताको सफलता हो। गर्ने सबैले हो, तर बाटो देखाउने एउटाले हो। त्यो बाटो देखाउनेको व्यक्ति नै राजनेता हो। नेपालमा पृथ्वीनारायण शाह, जंगबहादुर, राजा महेन्द्र, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्ता नेताहरूमा केही अंशमा राजनेतामा हुनुपर्ने गुण देखिन्थ्यो तर तिनले पनि पूर्णरुपमा आफूलाई राजनेताको रुपमा स्थापित गर्न सकेनन्।
एउटा मात्र राजनेता हुने हो भने सिंगो देश बन्न सक्थ्यो। तर त्यो राजनेता उसले दाबी गरेजस्तो आत्मरतिको राजनेता नभएर सम्पूर्ण जनतालाई आफ्नो पछाडि हिँडाउन सक्ने र भिजन, मिसन र गोल भएको हुनु जरुरी छ। राजनेतामा के गर्दा देशमा समृद्धि आउँछ र के गर्दा जनताको जीवनस्तरमा सुधार आउँछ भन्ने कुरा बुझ्न सक्ने र कार्यान्वयन गर्ने क्षमता हुनु जरुरी छ। यति बेला जातीय र क्षेत्रीय नाराले पनि देश आक्रान्त छ। त्यसलाई उचित सम्बोधन गर्न सकिएन भने यसले देशलाई कमजोर बनाउँछ। देश विखण्डनको भूमरीमा फस्ने ठूलो खतरा देखिँदै छ। नियम कानुनको कडा कार्यान्वयन गरे देश बन्छ भन्ने तर्क र नियम कानुन नै नभएर देश बनेन भन्ने तर्क पनि यदाकदा सुन्न पाइन्छ। यो सबै तर्कको नाममा कुतर्क हो। मुख्य कुरा विचार र विवेक हो। विवेकयुक्त विचार भएको व्यक्तिले मात्र राष्ट्रको उत्थान गर्न सक्छ र त्यो नै राजनेता हुन सक्छ। फेरि राजनेता रातारात हुने पनि होइन। राजनेता समयको मागबाट जन्मिने कुरा हो। यति बेला देशमा राजनेताको माग भने बढेको छ।
देशको संविधान र कानुनको कार्यान्वयन गराउन सके राजनेता बनिहालिन्छ भन्ने केहीको बुझाइ छ। तर यो बुझाइ पूर्ण होइन। संविधान र कानुन भनेका साधन हुन्, साध्य होइन्। त्यसैले यसको कार्यान्वयनले मात्र राजनेताको सपना देख्नु भ्रम हुन्छ। अहिले विचार शून्यता र योजना विहीनतामा देश चलिरहेको छ। सिद्धान्तका किताब घोकेर मात्र पनि राष्ट्रको उत्थान हुन सक्तैन। दूरदृष्टि भएको राजनेता यो भूमिमा जन्मिदो हो त आज देशको हालत यस्तो हुने थिएन। जनता यति निराशावादी हुने थिएनन्। राजनेताको मैदान खालि छ। सफल हुन सक्ने उम्मेदवार को छ?
प्रतिक्रिया