एपीएफले उपाधि रक्षा गर्यो


नेपाल समाचारपत्र
काठमाडौं
चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ महिला भलिबल क्लबले जितेको छ।

मंगलवर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा एपीएफले नेपाल प्रहरी महिला भलिबल क्लबलाई ३–०को सीधा सेटमा हराएको हो। यो जितसँगै एपीएफले उपाधि रक्षा गरेको छ। यो सिजनको पहिलो भलिबल प्रतियोगितामा उपाधि जित्ने क्रममा एपीएफले प्रहरीलाई २५–१२, २५–१९ र २५–१७ ले पन्छाएको थियो। बिजेता टोलीले पहिलो पुरस्कार १ लाख ५० हजार नगद गर्यो। उपविजेतामै चित्त बुझाएको प्रहरीको टोलीले १ लाख नगद हासिल गरेको छ।

यस्तै तेस्रो स्थानका लागि भएको खेलमा शिवम् न्यू डायमन्डले पश्चिमाञ्चललाई २५–१४,२५–१६ र २५–१४ को सोझो सेटमा हरायो। न्यु डायमन्डले नगद ५० हजार प्राप्त गरेको छ। अघिल्ला तीनै संस्करणमा एपीएफ बिजेताबन्दा न्यु डायमन्ड उपविजेतामै सीमित भएको थियो। यसपटक भने न्यु डायमन्डको भेट एपीएफसँग सेमिफाइनलमै हुँदा फाइनलसम्म यात्रा तय गर्न सकेन।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरी घोषित भइन्। उनले ३० हजारबराबरको टीसर्ट घडीका साथै नगद १० हजार पुरस्कार पाइन्। स्पेसल अवार्डबाट एपीएफकी रेश्मा भण्डारी सम्मानित भइन्। उनले टीसर्ट घडीका साथै नगद १० हजार प्राप्त गरिन्।

केएनपी जापानको मुख्य प्रायोजन, शिवम् सिमेन्टको सहप्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट स्पाइकर न्यु डायमन्डकी प्रतिभा माली घोषित भइन्। उत्कृष्ट डिफेन्स न्यु डायमन्डकी सलिन श्रेष्ठ, उत्कृष्ट ब्लकरमा प्रहरीकी मनिषा चौधरी चुनिए। उत्कृष्ट सेटर नेपाल पुलिसकी कमला पुनले जितिन्। उत्कृष्ट सर्भर एपीएफकी उषा विष्ट भइन्। उत्कृष्ट क्वीकर न्यु डायमन्डकी ललिता नाथ र उत्कृष्ट प्रशिक्षक एपीएफका ज्ञानेन्द्र विष्ट घोषित भए। विधागत बिजेताले जनही नगद ५ हजार प्राप्त गरे।