ट्रम्प–किम शिखर वार्ता सिंगापुरमा हुन सक्ने


सोल, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को महिना सिंगापुरमा भेट हुने सम्भावना रहेको बताइएको छ। दुई नेताबीच अप्रत्यासित भेटवार्ता गर्ने घोषणापछि उनीहरूबीचको वार्तास्थललाई लिएर विश्वको ध्यान तानिरहेकोमा उक्त समाचार बाहिर आएको हो। ट्रम्पले यसै सप्ताहन्तमा दुई पक्षले शिखर वार्ताका लागि स्थान र समय तय गर्ने बताएका थिए। तर थप जानकारी भने दिइएको छैन।

यो अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने पहिलो वार्ता हुनेछ।
‘हामी चाँडै नै घोषणा गर्दै छौं।’ –ट्रम्पले पत्रकारहरूलाई बताए। दक्षिण कोरियाको चोसुन डेलीले सोमबार ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको भनाइलाई उद्धृत गर्दै उक्त ऐतिहासिक शिखर सम्मेलन मध्य जुनमा हुने जनाएको थियो।

उक्त अखरबारले ऐतिहासिक शिखर सम्मेलनको आयोजना सिंगापुरले गर्ने सम्भावना अत्यधिक रहेको जनाएको छ। यसै महिनाको अन्त्यतिर दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनलाई ≈वाइट हाउसमा भेट्ने ट्रम्पको निर्णय आएपछि स्थान र समयको विषयमा कुरा बाहिर आएको हो।

बोल्टन र उनका दक्षिण कोरियाली समकक्षी चुङ युइ योङबीच गत हप्ता वासिङगटनमा दुवै स्थानका विषयमा छलफल भएको स्थानीय सञ्चार माध्यमले जनाएको थियो। त्यसैगरी दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले पनि शिखर वार्ताका लागि सिंगापुर उपयुक्तस्थल हुने जनाएको थियो।