अवरोध गर्नेप्रति सरकार कडा


नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि सरकारले कडा नीति लिने बताउनुभएको छ।

राष्ट्रिय सुरक्षा परिषद्को १७औं सचिवालय बैठकलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरूलाई नछोडिने चेतावनी दिनुभएको हो। प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरूप्रति सरकार टुलुटुलु हेरेर बस्दैन।’

‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक द्वेष फैलाउनेहरूबाट सजग हुनुपर्छ’ –उहाँले भन्नुभयो। प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रूत गतिमा अघि बढ्ने र देश भौगोलिकरूपमा अखण्ड रहने बताउँदै भन्नुभयो– ‘अब प्रतिगमन र विखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो, कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई तह लगाउने ठाउँमा हामी छौं।’

राष्ट्रिय सुरक्षा परिषद्ले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रधानमन्त्री ओलीले सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताउनुभएको छ।

प्रधानमन्त्री ओलीले नेपालीहरू तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाति भएको स्मरण गर्दै राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रैदेखि बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षासम्बन्धी धारणालाई समयअनुकूल ढंगले अघि बढाउने तयारी गरेको बताउनुभएको छ।

‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘दासता नस्वीकारेको र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ।’