३३ किलो सुन प्रकरण, १५ जनाको बयान सकियो


विराटनगर, (नेस)
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या अभियोगमा पक्राउ परेका २९ मध्ये १५ जनाको प्रारम्भिक बयान सकिएको छ। बिहीबारदेखि जिल्ला अदालत मोरङले आरोपीहरूको बयान लिन शुरू गरेको थियो। आइतबारसम्म १५ जनाको बयान सकिएको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए।

उनका अनुसार आइतबार मात्र १० जनाको बयान सकिएको हो। बिहीबारदेखि बयानको क्रममा रहेका टेकराज मल्ल ठकुरीको प्रारम्भिक बयान पनि आइतबार नै सकिएको हो। त्यस्तै भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, चाचाजी भनिने महावीरप्रसाद गोल्यान, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, सम्बीरप्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोराम खत्री र कपिलराज पुरीको बयान सकिएको हो।

तस्करी र शाक्य हत्या प्रकरणमा मुछिएका नेपाल प्रहरीका निलम्बित नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेलको बयान बा“की रहेको छ। उनलाई सोमबार पुनः बयान गराइने छ। शुक्रबार मोहन काफ्ले, लाक्पा शेर्पा, माधव भन्ने मदनप्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयान सकिएको थियो।