किरण श्रेष्ठ
सूर्यबहादुर सेन ओली एकताका निकै चर्चामा आएका अञ्चलस्तरका प्रशासक अर्थात् अञ्चलाधीश हुन्। आफ्नै ढङ्गमा प्रशासन चलाउन सिपालु व्यक्तिका रूपमा यिनी परिचित छन्। यिनै व्यक्तिले साहित्य मन पराएकै कारणले आफूलाई सूब सेनका रूपमा देखाएर साहित्यकार हुन आएको देखिन्छ।
गुल्मीको माँझकटेरी, पुरकोटमा वि.सं. १९९६ कात्तिक ८ गते जन्मेर ७८ वर्ष कटाएका यिनै स्रष्टा हाल काठमाडौं, बानेश्वरस्थित थापागाउँमा बसोवास गर्छन्। यिनका थुप्रै यात्रा संस्मरणका पुस्तकहरू, उपन्यास–कृतिहरू, कथासङ्ग्रहहरू, कवितासङ्ग्रहहरू र इतिहासग्रन्थहरू प्रकाशित छन्।
हालै मात्र यिनले काठमाडौंमा ४ वटा ऐतिहासिक नाटकका पुस्तकहरू सार्वजनिक गराएका छन्। चारैवटा पुस्तकहरूको प्रकाशन काल २०७४ पुस २७ राखेर राष्ट्रिय एकता दिवसलाई यिनले स्मरण गरेका छन्। प्रकाशित नाटकहरूमा (१) लखन थापा जयसिंह चुमी, (२) शहीद कृष्णलाल, (३) शहीदसभा र (४) मैनाबहादुर खण्डमान छन्। चारैवटा नाटकहरूमा यिनले इतिहासको व्रmूर कालखण्डलाई सजीव ढङ्गले घटनाक्रम र पात्रहरूको चयन गरेर सरल ढङ्गले विषयवस्तुलाई प्रस्तुत गरेका छन्।
राणा शासकहरूको अत्याचारबाट नेपाली जनतालाई मुक्त गर्न कालकोठरीमा बसेर जीवन बलिदान गर्नेहरूको वीरगाथालाई यी नाटकहरूमा प्रस्तुत गरेर देखाएका छन्। प्रस्तुत ‘लखन थापा जयसिंह चुमी’ नाटकमा लखनसिंह थापा र जयसिंह चुमीलाई मुख्य पात्र बनाएर राष्ट्रिय प्रेमको भावलाई अर्थपूर्ण र महत्वपूर्ण रहेको सन्दर्भ पोखेर इतिहासलाई स्मरण गराएका छन्। यसै गरी ‘शहीद कृष्णलाल’ नाटकमा कृष्णलाल अधिकारीको स्वाभिमानी चरित्र, जीवन र दृष्टि–विचारलाई सान्दर्भिक ढङ्गमा प्रस्तुत गर्न सफल छन्। ‘मकैको खेती’ का लेखक कृष्णलाललाई अन्यायपूर्वक पक्राउ गरेर जेलभित्र कोच्न दिई मनोवैज्ञानिक ढङ्गले जुन हत्या भएको सन्दर्भ र प्रसङ्ग छ, ती सबै दृश्यपटहरू मार्मिक ढङ्गले प्रस्तुत भएका छन्।
सरल भाषामा नाटक लेखिएको छ। नाटकमा नेपालको इतिहासमा देखाउन लायकका पात्रहरू चयन भएका छन्। तेस्रो नाटक ‘शहीदसभा’ मा नाटककार सूब सेनले शुक्रराज, धर्मभक्त, गङ्गालाल, दशरथ, लखन, कृष्णलाल, मैनाबहादुर, खण्डमान, थीरबम, कृष्ण सेन, पृथ्वीनारायण, उद्योत सेन, अमरसिंह, टङ्कप्रसाद, रामहरि, जयपृथ्वीबहादुर, विश्वे, रेवन्तकुमारी, सीता, हसिनादेवी, सूर्यलक्ष्मी, अष्टकुमारी, चञ्चला, कामक्षादेवी, राममाया आदि पात्रहरूको शहीद–सभा खिँचेका छन्।
विभिन्न परिवेशका ऐतिहासिक नारी–पुरुष यस नाटकका पात्रहरू चयन भएका छन्। शहीदहरूको मूल्यमान्यतालाई समाप्त पार्न खोज्नेहरूको विरुद्धमा ‘शहीद–सभा’ गर्न लगाइएको मार्मिक कथन र इतिहास यस नाटकमा छर्लङ्ग देखाइएको छ। ‘मैनाबहादुर खण्डमान’ नाटकमा राणा शासनमा दरबार स्कुलमा पढेका दुईजना विद्यार्थी मैनाबहादुर र खण्डमानले राणाशाहीको ज्यादतीको विरुद्धमा ‘प्रचण्ड गोर्खा’ खोलेकै कारणले जेलजीवन भोगे मात्र होइन कालकोठरीमा नै मृत्युवरण गरे। चारैवटा नाटकहरू इतिहाससँग सम्बन्धित छन्।
चारैवटा पुस्तकहरूमा राणाशासनको ज्यादती र अँध्यारो परिवेशको चित्रण मार्मिक ढङ्गमा भएका छन्। प्रयास सराहनीय छ। इतिहासलाई स्मरण गराउने काम गरेका छन् सूब सेनले। चारैवटा नाटकमा इतिहासभित्रको इतिहास बोलेको छ। सूब सेनको प्रयास प्रशंंसनीय र तारिफ गर्नलायक छ। कृति प्रकाशनका लागि बधाई भनिरहेछु।
प्रतिक्रिया