म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएलगत्तै गर्मीयाम सुरु भएसँगै जिल्ला भ्रमणमा आउने पर्यटकको चहलपहल सुरु भएको हो ।

पर्यटन समय सुरु भएपछि जिल्लामा पर्यटकको आवागमन बढेको बताइएको छ । म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गरेका छन् । जिल्लामा पर्वतको मालढुङ्गा हुँदै सदरमुकाम बेनी, पश्चिमको दरबाङ, बागलुङदेखि रत्नेचौर र उत्तरी भूरुङ–तातोपानी नाका भएर म्याग्दीको भ्रमणमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

यसैगरी कतिपय पर्यटक टे«किङ एजेन्सीमार्फत सिधै हवाई मार्ग भएर जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गरेका छन् । जिल्ला भ्रमण गर्न भित्रिने बाह्य पर्यटकहरुको तथ्याङ्क प्रहरीसँग रहेपनि आन्तरिक पर्यटकहरु कति भित्रिन्छन् ? भनेर कुनै सरकारी वा गैरसरकारी निकाय तथा संघसंस्थाले राख्न सकेका छैनन् । बेनीका होटल व्यवसायीहरुका अनुसार जिल्लामा बाह्यभन्दा आन्तरिक पर्यटकहरु धेरै आउने भए पनि आधिकारिक तथ्याङ्क कसैसँग छैन ।
विगतका वर्षको तुलनामा यो समयमा पर्यटकको आवागमनमा कमी आएको होटल याक एण्ड रेष्टुरेण्टका सञ्चालक बाबुराम आचार्यले बताए । पर्यटन सिजन सुरु भैसक्दा पनि सीमित मात्रामा मात्रै आन्तरिक तथा बाह्य पर्यटकहरु आएको बताउँदै उनले जिल्लामा पर्यटक भित्र्याउनका लागि आवश्यक पहल गर्नुपर्ने बताए । उनका अनुसार म्याग्दीमा युरोपियन, अमेरिकन, इटालीयन, इन्डियनका साथै नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रका पर्यटकहरु आउने गरेका छन् । हालै मात्र बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका कारण दैनिक ८ घण्टासम्म सडक बन्द हुने भएकाले पनि पर्यटकको आगमन कम भएको होटल व्यवसायी आचार्यको भनाई छ ।

म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी समेत रहेका आचार्यले प्रायः पर्यटकहरु एकदिन भन्दाबढी नबस्ने र अधिकांश पर्यटकले मुस्ताङको जोमसोम, मुक्तिनाथ र कोरला भ्रमणलाई प्राथमिकता दिने गरेको बताए । यातायात व्यवसायीले जुनसुकै समयमा पनि पर्यटक बोकेर हिँड्ने भएकाले पनि पर्यटकको म्याग्दी बसाई लम्ब्याउन नसकिएको होटल व्यवसायीहरुले गुनासो गरेका छन् ।

जिल्लामा भित्रिने पर्यटकको सुरक्षा तथा उनीहरुलाई समस्या परेको खण्डमा तत्कालै उद्धारका लागि आवश्यक कदम चाल्ने गरिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताइन् ।

पर्यटकीय हिसाबले म्याग्दी जिल्ला सुरक्षित र पर्यटनमैत्री रहेको बताउँदै उनले आगामी दिनमा पर्यटनमैत्री संरचना तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।

चालु आर्थिक वर्षको गत साउन महिनादेखि फागुनसम्म जिल्लामा कुल २६ हजार ५१८ जना पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार पुरुष १३ हजार ९७६ र महिला १२ हजार ५४२ जना पर्यटकले जिल्लाको भ्रमण गरेका छन् ।

गतवर्ष कुल ६९ हजार ८१६ जनाले जिल्लाको भ्रमण गरेको प्रहरीले जानकारी दिएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विदेशी पर्यटकहरुले भ्रमण गरेका हुन् ।

म्याग्दी भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा यात्रा, धौलागिरि बेसक्याम्प तथा धौलागिरि–अन्नपूर्ण हिमाल आरोहण गर्न आउने गरेका छन् ।