सित्तैमा आइसक्रिम बाँडेर रमाउने वृद्ध



सिंगापुरसिटी, (एजेन्सी)
अधिकांश मानिसका लागि जन्मदिन मनाउनु भनेको उपहार प्राप्त गर्नु हुन्छ। तर, सिंगारपुका एक मानिसका लागि भने जन्मदिन मनाउनुको अर्थ ठीक यसको विपरीत हुने गरेको छ।

पेसाले आइसक्रिम विक्रेता ‘अंकल जिम्मी’ को नामले चिनिने ती व्यक्तिले प्रत्येक वर्ष आफ्नो जन्मदिनमा १ हजार वटा आइसक्रिम सित्तैमा ख्वाउने गरेका छन्।

७२ वर्षीय जिम्मी हरेक दिन शहरको एउटै सडक छेउमा मोटरसाइकलमा पुग्छन्, आफ्नो स्टल ठड्याउँछन् र आइसक्रिम खाने ग्राहकको प्रतीक्षामा बस्छन्। तर, हरेक वर्षको २२ मार्चमा अर्थात् उनको जन्मदिनमा भने त्यहाँको माहोल अलि भिन्नै हुन्छ। त्यस दिन उनको स्टलमा निःशुल्क आइसक्रिम खानेहरूको लामो लाइन लाग्ने गर्दछ।

यसपालि भने केही घण्टाभित्रै उनको आइसक्रिम सकियो। जिम्मी तेंगले बीबीसीलाई भनेका छन्– ‘साँझ ५ बजेतिर सबै आइसक्रिम सकियो। त्यसपछि पनि आइसक्रिम खाने आश लिएर आएका केही मानिसलाई भोलिपल्ट आउँदा पनि सित्तैमा खुवाउने वाचा गरें। स्ट्रिट फुड कल्चरको ठूलो प्रभाव रहेको सिंगापुरका आइसक्रिम बेच्दै हिँड्ने अन्य व्यक्तिले पनि उनलाई मायाले ‘आइसक्रिम अंकल’ नै भनेर सम्बोधन गर्ने गर्छन्।

सडकमा घुमरे यसरी आइसक्रिम बेच्नेहरूको संख्या अहिले थोरै भइसकेको छ। उनले ७० वर्षको उमेर पुग्दा ७ सय वटा निःशुल्क आयक्रिम बाँडेर यो चलन शुरू गरेका थिए। उनले भने– ‘सिंगापुरमा प्रायः मानिस तनावमा रहेने गरेका छन्। मैले सोचें आफ्नो जीवन पनि छोटिँदै छ। मानिसलाई खुसी पार्ने मौका यही नै हो भनेर आइसक्रिम बाँड्न थालें।’

सिंगापुरमा कोणमा नभई आइसक्रिम दुईवटा वेफर वा पाउराटी बीचमा राखेर दिइने गरिन्छ। जिम्मीले बेच्ने एउटा आइसक्रिमको ेमूल्य १ सिंगापुर डलर पर्दछ। ३ वर्षअघि उनकी पत्नीको निधन भएको थियो।

त्यसअघि आफ्नी पत्नीको उपचार खर्च जुटाउन उनी निकै मिहेनत गरेर आइसक्रिम बेच्ने गर्दथे। पत्नी बितेपछि उनले कामै छोड्ने विचार गरेका थिए। तर, उनले ३ महिनाभन्दा लामो समय आफूलाई बाँधेर राख्न सकेनन्। उनी फेरि सडकमा आइसक्रिम बेच्दै गरेको देखिन थालियो।

प्रतिक्रिया दिनुहोस्