दीगो विकासका लागि स्थानीय तहले भुमिका खेल्नुपर्ने



धनवीर दाहाल, रुकुम ।
दीगो विकास र सुशासनका लागि स्थानीय तहले महत्वपुर्ण भुमिका खेल्नुपर्नेमा स्थानीय स्तरमा जोड दिइएको छ ।

स्थानीय तहमा अधिकार प्रयाप्त भएकोले स्थानीय तहबाटै दीगो विकास र सुशासनको प्रत्याभुति दिनको लागी जनप्रतिनिधि लगाएत सरोकारवाला निकाय एक हुनुपर्नेमा स्थानीयले आग्रह गरेका हुन् । दीगो विकास र सुशासनका सन्दर्भमा रुकुम पश्चिमको त्रिबेणी गाँउपालिकामा जिल्ला स्तरको एक कार्यक्रममा स्थानीयले यस्तो धारणा राखेका हुन् ।

विकासका हरेक गतिविधिमा सुशासन कायम गर्दै दीगोपना कायम गर्नका लागि मानवअधिकार संरक्षण तथा कानूनी सेवा केन्द्र हरप्लेस रुकुमले अन्र्तसंवाद आयोजना गरेको हो । कार्यक्रम पछि त्रिवेणी गाउँपालिकाको नियमित सार्वजनिक सुनुवाई गर्ने, गाउँपालिका सुशासन समिति निर्माण गरी तेस्रो पक्षीय अनुगमन प्रणालीको विकास लगायतका सुशासन सम्बन्धी गतिविधि सञ्चालन गर्ने, विनियोजित बजेट सहित बार्षिक कार्यक्रम गाउँपालिका सबै वडाहरुबाट सार्वजनिक गर्ने लगायतका निर्णय गरिएको छ ।

स्थानीय तहको पुनर्संरचनासँगै गाउँपालिकामा सबै अधिकार प्राप्त भएकोले गाउँपालिकाका हरेक गतिविधिमा सुशासन कायम गर्दै दीगो विकास मार्फत समृद्धितर्फ अग्रसर हुने अवसर प्राप्त भएको सहभागीले बताएका छन् । गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीयता कायम हुनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका छन् ।

सुशासन भएमा मात्र विकासले गति लिने भन्दै त्यसका लागि योजना बनाएर लाग्नुपर्ने उनीहरुको भनाई थियो । त्रिवेणी गाउँपालिका वडा नं. १ का अध्यक्ष मोहनकिशोर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष शोभाराम बोहोरा, वडा नं. ३ का अध्यक्ष मोहन ओली, वडा नं. ४ का अध्यक्ष चन्द्रबहादुर खड्का, गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्री लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विषयगत कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्