स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण



सलिम अन्सारी प्युठान ।
जिल्ला स्वास्थ्य कार्यालय, प्युठानले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका नौवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए ।

स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपछि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारको अवस्थालगायत सम्पूर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको सुवेदीले बताए । स्थानीयतह पुर्ण क्षमतावान नहुँदा सम्म जिल्लाभर स्वास्थ्य सम्बन्धी समन्वय र प्राविधिक सहजिकरणका लागि र हाल सम्मका उपलब्धी संस्थागत गर्नका लागि जिल्लामा जनस्वास्थ्य कार्यालय समन्वय ईकाई आवास्यक रहेको खाँचो जनस्वास्थ्य अधिकृत सुबेदिले औंल्याए।

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले हालै प्युठान नगरपालिका,माण्ड्वी र सरुमारानी गाउँपालिकामा पुगेर त्यस क्षेत्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ । सो अवसरमा त्यहाँ निर्वाचित जनप्रतिनिधिसँग स्वास्थ्य संस्थाको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीका सम्बन्धमा छलफलसमेत भएको छ ।

स्थानीय तह मातहतमा गएपछि ती स्वास्थ्य संस्थाको औषधि खरिद, कर्मचारीका सेवासुविधा, पूर्वाधार तथा कार्यालय व्यवस्थापनलगायत सम्पूर्ण काम अब स्थानीय तहले नै गर्नेछन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य कार्यालय मातहत दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४६ वटा स्वास्थ्य चौकी ५ वटा सामुदायिक स्वास्थ्य ईकाई र ३ वटा शहरी स्वास्थ्य केन्द्र छन् ।

त्यसमध्ये प्युठान जिल्ला अस्पताल सहित दुई शहरी स्वास्थ्य केन्द्र,१४ वटा स्वास्थ्य चौकी र १ वटा सामुदायिक स्वास्थ्य इकाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइसकेको कार्यालयले जनाएको छ । । बांकी रहेका अन्य ६ वटा स्थानिय तहका स्वास्थ्य संस्थालाई पनि स्थानिय तहलाई नै हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्