सरकार बिदा कटौती गर्दै

0
Shares

गंगा बराल, काठमाडौं
सरकारले धार्मिक र विभिन्न समुदायका चाडबाडका लागि दिइने सार्वजनिक बिदा कटौती गर्ने भएको छ। बिदासम्बन्धी निर्णय गर्ने जिम्मेवारी पाएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखा ‘क’का उपसचिव भरतकुमार शर्माका अनुसार शाखाले बिदाको खाका बनाएर क्याबिनेटमा पठाइसकेको छ। गृहमन्त्री रामबहादुर थापा संयोजक रहेको मन्त्रिपरिषद्को सामाजिक समितिले छलफल गरिसकेपछि क्याबिनेटले निर्णय गर्ने शर्माले बताउनुभयो।

‘हामीले कुन बिदा दिनुपर्ने र कुन नदिँदा हुने भनेर मंगलबार रायसहित पठाएका छौं’, शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सरकारले आवश्यक निर्णय गर्छ, त्यसमा केही थपघट हुन सक्छ।’ धार्मिक र सांस्कृतिक बिदा त्यही समुदाय र वर्गलाई मात्र दिन सकिने र सेवाग्राहीको दैनिक कामकाजमा प्रभाव पार्न नहुने शाखाको प्रस्ताव छ।

शाखाले तयार पारेको बिदासम्बन्धी सूची गृह मन्त्रालयकै अन्तरिक व्यवस्थापन महाशाखाका सहसचिव ईश्वरराज पौडेललाई पठाइएको थियो, महाशाखाबाट गृहमन्त्री हुँदै मन्त्रिपरिषद् पुगेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बिदासम्बन्धी प्रस्ताव क्याबिनेटमा आइपुगेको बताउनुभयो।

‘यो प्रस्ताव आएको छ, छलफल भइरहेको छ, केही बिदा कटौती हुनेछन्’, कानुनमन्त्री तामाङले भन्नुभयो– ‘अबको क्याबिनेट बैठकमा यो निर्णय हुन सक्छ।’ प्रायजसो सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ।

सार्वजनिक बिदा धेरै भएको भनेर आलोचना भइरहेका बेला सरकारले अनावश्यक बिदा कटौती गर्न लागेको हो। ‘धेरै दिन बिदा भइरहँदा एकातिर सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् भने अर्कातिर देशको अर्थतन्त्रमा पनि असर परेको छ’, शर्माले भन्नुभयो– ‘जातजाति, धर्म, समुदाय र वर्गका बिदा कटौती गर्न प्रस्ताव गरिएको छ।’

सबैको बढी चासो र सरोकार रहेका बिदा यथावत् रहेका छन्। दशैंमा फूलपातिदेखि ८ दिन र तिहारमा ३ दिन बिदा हुनेछ। शाखाले आपत्कालीन बिदासम्बन्धी निर्णय गर्ने काम पनि गर्छ।

वैशाखदेखि अर्को वैशाखसम्मको बिदाको तालिका एकैसाथ प्रकाशित हुनेछ। यो साल जम्मा १ सय ५ दिन बिदा परेको छ। सरकारले समयमा बिदाबारे निर्णय नगर्दा नयाँ वर्षका लागि छापिने शुभकामनाका क्यालेन्डर र पात्रोहरू प्रकाशित हुन सकेका छैनन्।

चाबहिलको प्रनिश टाइपिङ एन्ड डिजाइन सेन्टरका सञ्चालक रोशन ज्ञवालीले विगतका वर्षमा यति बेलासम्म धेरैवटा क्यालेन्डर छापिसकिने गरेको बताउनुभयो। ‘केही क्यालेन्डर प्रकाशनको तयारीमा छन् तर बिदा कहिले पर्छ भन्ने स्पष्ट नभएकाले काम रोकिएको छ।’ –ज्ञवालीले भन्नुभयो।

Skip This