चित्रे होमस्टेमा आन्तरिक पर्यटकका लागि ‘प्याकेज’

0
Shares

पर्वत, (नेस)
सात वर्षदेखि होमस्टे सञ्चालन हुँदैआएको मोदी ७ चित्रेका स्थानीयले आन्तरिक पर्यटकलाई लक्षित गर्दै ‘न्यानो अतिथि प्याकेज’ सञ्चालनमा ल्याएका छन् । प्याकेजअन्तर्गत यहाँ आउने पर्यटकले गुरुङ समुदायका कला संस्कृति झल्किने नाचगान हेर्न–सुन्न र मौलिक परिकारको स्वाद लिन पाउने छन् ।

गुरुङ समुदायले होमस्टे सञ्चालन गरेको भए पनि अनेक जातजातिका पाहुना आउने भएकाले आफ्नो मौलिक संस्कार उनीलाई जानकारी गराउन यस्तो कार्यक्रम ल्याइएको होमस्टे सञ्चालक समिति अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् ।‘हाम्रो मौलिक संस्कृति र स्वाद नदिए प्रचार हुँदैन,’ उहाँले भन्नुभयो–‘एकपटक त्यो चाखेपछि पाहुनालाई यादगार हुन्छ ।’ होमस्टे सञ्चालकहरूले यो प्याकेज अन्तर्गतको अभ्यास पनि गरेको उहाँले बताउनुभयो।

पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकले चित्रेका होमस्टेमा एक रात बिताउने गरेका छन् । स्थानीयस्तरमा उत्पादित अन्नका परिकार साथै लोककला र संस्कृतिमा रमाउन पाइने भएपछि यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ ।

होमस्टे शुरू गरेपछि चित्रेमा बढेको आन्तरिक पर्यटकको आगमनले स्थानीय पनि खुसी छन् । फलेवासका अर्जुन शर्माले भन्नुभयो–‘धेरै ठाउँका होमस्टे पुगें । चित्रेमा छुट्टै किसिमको सत्कार पाएँ ।’ होमस्टेमा पर्यटक पुगेपछि स्थानीयले गुरुङ समुदायको समाजघरमा भेला भएर सामूहिक रूपमा मालाले स्वागत गर्छन् । त्यसपछि ठाडो भाका, घाटु र सालैजोलगायतका गीतले स्वागत गरिन्छ । त्यसलगत्तै साँझमा कोदो र फापरका परिकार, लोकल कुखुराको सुप र सिजन अनुसारका खानाका परिकार खुवाइन्छ ।

कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासेको फेदीमा रहेको चित्रेमा विदेशीको तुलनामा आन्तरिक पर्यटक नै बढी पुग्छन् ।

होमस्टे सञ्चालक विष्णुकुमारी गुरुङले भन्नुभयो–‘नेपालीलाई नेपाली खानेकुरा सजिलो पनि भइरहेको छ । आउनेले मन पराएका छन् ।’
पूर्ण बालमैत्री घोषित गाउँ भएकाले यहाँ आउने पाहुनालाई सामाजिक सभ्यता र आचरणबारे समेत सिकाइ हुन्छ । स्थानीय शिक्षक मधुशोधन अधिकारी भन्नुहुन्छ–‘होमस्टे मात्रैले अतिथि सत्कार नभएर यहाँका बाटाघाटाले पनि धेरै कुराको सिकाइ हुन्छ ।’ यहाँको सामाजिक अध्ययन गर्न आउनेहरू पनि धेरै हुन थालेको उहाँले बताउनुभयो ।

पञ्चासे घुम्न आउने पर्यटकलाई खाना र बस्नमा हुने असुविधालाई ध्यानमा राख्दै २०६७ चैतदेखि यहाँ होमस्टे थालिएको हो । हाल चित्रेमा वार्षिक तीन हजार हाराहारीमा पर्यटक आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्यांकमा उल्लेख छ ।

चित्रेमा हाल १० वटा घरमा यस्तो सुविधा छ । अहिले १० घरमा ६५ जना एकैपटक बस्नसक्ने व्यवस्था मिलाइएको छ । पर्यटकको मागअनुसार आगामी दिनमा अन्य घरमा समेत विस्तार गर्ने योजना रहेको अगुवा सुकबहादुर गुरुङले बताउनुभयो । पोखराबाट ४७ किलोमिटर पोखरा–बागलुङ राजमार्गको यात्रापछि पर्वतको डिमुवा पुगिन्छ । त्यहाँबाट करिब आधा घण्टाकच्ची सडकको यात्रापछि चित्रे पुग्न सकिन्छ । पर्वत सदरमुकाम कुश्माबाट चित्रे ११ किमी दूरीमा पर्छ ।