प्रधान सम्पादक श्रेष्ठसहित १०० जना सम्मानित



टंकराज अधिकारी, पोखरा

लायन्स क्लब अन्तर्राष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १ सय जनालाई नागरिक अभिनन्दन गरिएको छ। लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ को आयोजनामा सम्मानित व्यक्तिलाई पोखराको सभागृहचोकबाट रथारोहण गराई चिप्लेढु·ा महेन्द्रपुल हुँदै प्रदर्शनी केन्द्र नयाँबजारमा नागरिक अभिनन्दन गरिएको हो।

विशिष्ट व्यक्तिलाई उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ), प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी तथा लायन्सका विभिन्न व्यक्तिले अभिनन्दन गर्नुभएको थियो।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रमा तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेका कारण संविधान कार्यान्वयनले सुखद पूर्णता पाउन लागेको बताउनुभयो। देश राजनीतिक स्थिरतातर्फ उन्मुख बनेको बताउँदै उहाँले अब देश आर्थिक समृद्धिको मार्गमा जाने विश्वास व्यक्त गर्नुभयो। लायन्सले मानवीय सेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, पर्यावरणका क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको उहाँको भनाइ थियो।

कार्यक्रममा उद्योगपति, साहित्यकार, समाजसेवी, कलाकार, खेलाडी, पत्रकारलगायतका समाजका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका १०० जना व्यक्तित्व छनोट गरी उनीहरूलाई लायन्स इन्टरनेसनल स्थापनाको १०० वर्ष पूरा भएका अवसरमा नागरिक अभिनन्दन एवम् रथारोहण गरिएको कार्यक्रम संयोजक एवम् लायन्स इन्टरनेसनल ३२५ बी १ का डिस्ट्रिक गभर्नर धनराज आचार्यले बताउनुभयो। उहाँले शतवार्षिक समारोहका अवसरमा विभिन्न १०० वटा विशेष कार्यक्रमसहित अघि बढेको जानकारी दिँदै अधिकांश कार्यक्रम सफल बनिसकेको बताउनुभयो। सम्मानित हुनेमा वरिष्ठ पत्रकार एवम् नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, शिक्षाविद् केदारभक्त माथेमा, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, सीताराम कट्टेल, योगी विकाशानन्द, पुतली बाजे, बैकुण्ठ मानन्धर, यादव खरेललगायतलाई अभिनन्दन गरिएको थियो।

सम्मान कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले समृद्ध नेपाल निर्माणका लागि दृढ इच्छाशक्ति भएका नेताहरूको आवश्यकता भएको धारणा राख्दै नेपालीहरूको समृद्धिको चाहनालाई पूरा गराउनुपर्नेमा जोड दिनुभयो। आजभन्दा सय वर्ष अगाडि प्रथम विश्वयुद्धबाट क्षतविक्षत भएको तत्कालीन समाजमा मानवीय सेवा, मानिसहरूबीच दुःखमा समवेदना प्रकट गर्न तथा घाउमा मलमपट्टी लगाउने उद्देश्यसहित लायन्सको स्थापना भएको डिस्ट्रिक गभर्नर आचार्यले बताउनुभयो।
नेपालका पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष रहेको यस संस्थाले अन्धोपन निवारण, स्वास्थ्य जनचेतना, आँखा अस्पताल एवम् शिक्षण संस्थाहरूको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको डिस्ट्रिक गभर्नर आचार्यले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्