आउने वर्ष नवीकरणीय ऊर्जा वर्ष हुनुपर्छ

0
Shares

प्राडा रमेशकुमार मास्के
अध्यक्ष, अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि विकास सम्मेलन– २०१८ आयोजक समिति

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले पाँचौ अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि विकास सम्मेलन आगामी मार्च २९ देखि ३१ सम्ममा काठमाडौंमा आयोजना गर्दैछ। सम्मेलनमार्फत् स्वच्छ ऊर्जा उत्पादन र त्यस क्षेत्रको विकासका लागि आगामी कार्यदिशा निर्धारणमा सहयोग पुग्ने आयोजकको भनाइ छ। सम्मेलनको आवश्यकता, प्रभावकारिता, नीति निर्माण तहमा मात्र नभई तल्लोस्तरसम्म पनि नवीकरणीय ऊर्जाका क्षेत्रमा जनचेतना फैलाउनका लागि सम्मेलनले कस्तो भूमिका खेल्छ भन्ने विषयमा आयोजक समितिका अध्यक्ष प्राडा रमेशकुमार मास्केसँग नेपाल समाचारपत्रका लागि राजु श्रेष्ठ र हेमन्त जोशीले गरेको कुराकानीः

काठमाडौं विश्वविद्यालयले आयोजना गर्न थालेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रविधि विकास सम्मेलनको उद्देश्य के हो ?

यस किसिमको चार वटा सम्मेलन यसअघि बंगलादेशको ढाकामा आयोजना गरिएको थियो। सम्मेलनको मुख्य उद्देश्य भनेको अन्तर्राष्ट्रियस्तरमा नवीकरणीय ऊर्जालाई हामीले नकार्न सक्दैनौं र यसलाई साच्चिकै अन्तर्राष्ट्रियस्तरको मुद्दा बनाउनका लागि भूमिका खेल्नु हो।

चौथौ सम्मेलनले अर्को सम्मेलन बंगलादेशभन्दा बाहिर गर्नुपर्ने सुझाव दिएको थियो। त्यो सुझाव बोर्डले पनि स्वीकार गरेको हुनाले पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्न लागेका हौं। त्यसपछि हामीसँग दुई वर्षको समय रहन्छ। त्यो दुई वर्षको बीचमा फेरि कस्ले आयोजना गर्ने भन्ने विषयमा हामीले तय गर्ने छौं। यसअघिका सम्मेलन एकै ठाउँमा आयोजना गर्दा उनीहरूलाई पनि अप्ठेरो परिसकेको अवस्था थियो।

सबैभन्दा महत्वपूर्ण कुरा आगामी वर्षलाई ‘नवीकरणीय ऊर्जा वर्ष २०७५’ का रूपमा मनाउने हाम्रो लक्ष्य रहेको छ। हरेक घरमा ५० प्रतिशतभन्दा बढी विद्युत् आफ्नै उत्पादनबाट खपत हुने एउटा उद्देश्यका साथ हामी काम गर्छौं। सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत्, जिओथर्मल इनर्जी, बायोमास, बायो फ्युलजस्ता नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वव्यापी रूपमा भएको प्रविधिको विकास, नयाँ अनुसन्धानलगायत विषयमा जानकारी साटासाट गर्न सम्मेलनले ठूलो भूमिका खेल्ने अपेक्षा हामीले लिएका छौं।

यसले नेपालको नवीकरणीय ऊर्जा विकासमा कस्तो भूमिका खेल्छ ?

पहिलो कुरा त हामीले संस्थागत दृष्टिकोणले आयोजना गर्ने चाहना राख्यौं र उहाँहरूले स्वीकार गर्नुभयो। सम्मेलन आयोजना गरिसकेपछि नेपालको परिपेक्ष्यमा यसको उद्देश्य के हुन सक्छ र यसबाट हामीले के कस्तो फाइदा लिन सक्छौं भन्ने कुरालाई हामीले तल्लो तहसम्म विश्लेषण गरेका छौं।

नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रलाई हेर्ने हो भने बढी नै चाखको विषयका रूपमा हेरिन्छ। सम्मेलनमा राष्ट्रिय योजना आयोग, वातावरण मन्त्रालय जस्तो सरकारी संस्थाको पनि सहभागिता रहेकाले नीति निर्माणका लागि पनि ठूलो सहयोग पुग्ने हामीले आशा राखेका छौं। नवीकरणीय ऊर्जाको विकासमा कसरी सहयोग पुर्याउन सकिन्छ र नेपालमा त्यसको प्रभावकारिता के छ भन्ने विषय मुख्य हो। त्यसो त नवीकरणीय ऊर्जा विश्वभर नै बढी चाख लिइएको विषय हो।

सम्मेलनबाट निस्केको निश्कर्ष सरकारी तवरबाट सबै तहसम्म जान्छ। तर, उक्त निश्कर्षलाई स्थानीय तहका प्रतिनिधिले कसरी मनन गर्छन् भन्ने कुरा महत्वपूर्ण हो।

अहिले नेपालमा नवीकरणीय ऊर्जा सम्बन्धी प्रविधि, ज्ञान, सीप र यसको प्रयोगलाई कसरी लिनुभएको छ ?

मैले आफ्नो घरमा एक किलोवाट क्षमताको सोलार फोटोभोल्टाईक प्यानल जडान गरेको छु। नजिकका मित्रहरूलाई पनि राखौं न भन्दा यसको प्रभावकारीता र फाइदा कम छ भन्दै पन्छाएको उदाहरण थुप्रै छन्। मलाई के लाग्छ भने ब्याट्रीको प्रयोग गर्नु अगाडि त्यसले वातावरणमा गर्ने असरका बारेमा सोचिनु राम्रो हो। तर, सोचेर त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर प्रयोग गरेको भए हामीले नवीकरणीय ऊर्जाको अधिकतम् प्रयोग गर्न सक्थ्यौं। जुन अभ्यास अझै शुरू हुन सकेको छैन।

नवीकरणीय ऊर्जामा सबैभन्दा खड्केको कुरा के हो भने त्यसको घनत्व (डेन्सिटी) हो जसलाई हामीले भण्डारण (स्टोर) गर्नैपर्छ। हामीकहाँ खाना पकाउनलाई नै बढी ऊर्जा चाहिएको हुन्छ। बिहान बेलुका खाना पकाउन नवीकरणीय ऊर्जाको त्यति साह्रो प्रयोग भएको देखिँदैन। किनकी ठूलो क्षमतामा त्यस्तो ऊर्जा भण्डारण गर्न सकिरहेका छैनौं। तर, पछिल्लो समय प्रविधि पनि विकास हुँदै गएको छ। दिउँसो ऊर्जा संकलन गरेकोलाई हामीले राती प्रयोग गर्न पनि सक्छौं। यो सम्मेलनबाट त्यस्तो खालको सन्देश दिन सकौं भन्ने हाम्रो लक्ष्य हो।

हरेक सम्मेलन आयोजना गर्दा हामीले केही निश्कर्ष निकाल्छौं। र निष्कर्षबाट कसरी आगामी कार्यदिशा तय गर्ने भन्ने संकल्प लिएका हुन्छौं। हामीले नवीकरणीय ऊर्जाको प्रयोगबाट डिजेल, मट्टितेल, पेट्रोल, एलपी ग्यासको प्रयोगलाई घटाएर नवीकरणीय ऊर्जाको बढी प्रयोगलाई हामीले लक्ष्यका रूपमा लिएका छौं।

नवीकरणीय ऊर्जामा जति अध्ययन अनुसन्धान भएको छ, व्यवहारिक जीवनमा त्यसको निकै कम अंशमात्र लागू भएको देखिन्छ नि, यसो हुनुको कारण के हो ?

अनुसन्धानबाट निस्किएका निश्कर्षहरू लागू नै नभएको भन्न मिल्दैन। रिसर्चबाटै सोलार होम प्रणाली निस्केको हो। सोलार प्रणालीबाट अहिले केही हदसम्म उज्यालो पुगेको छ। त्यही सोलार होम प्रणालीले हामीले सञ्चारमा पनि सहयोग पुर्याएको छ।

यस अर्थमा अनुसन्धानबाट आएका कुरा तल्लो तहसम्म नपुगेको भन्न मिल्दैन। तर, जति मात्रामा पुग्नुपर्ने हो त्यति मात्रामा नपुगेको पक्कै हो। त्यसो हुनुको कारण हामीले धेरै कुरा सजिलो खोज्छौं। हामीलाई प्रसारणलाइनबाट विद्युत् आयो भने सजिलो लाग्छ। जतिखेर स्वीच अन गर्दा पनि विद्युत् बलोस भन्ने सबैको चाहाना हुन्छ। तर नवीकरणीय उर्जाको आयु कम हुने भएकाले यसलाई केही कुराको व्यवस्थापन सीप चाहिन्छ। यस कारण पनि हामीले गरेको अध्ययन अनुसन्धानहरू तल्लो स्तरसम्म पुग्न नसकेको देखिएको हो।

जलविद्युत्बाहेक अन्य ऊर्जाको क्षेत्रमा ठूलो मात्रामा विकास भएको देखिँदैन नि ?

नेपालको परिपेक्ष्यमा बढी सम्भाव्यता भएको भनेको जलविद्युत् नै हो। बंगलादेशमा सौर्य विद्युत्को सम्भाव्यता बढी छ। तर, बुझ्नुपर्ने कुरा के हो भने एउटा घरको लागि मात्र हामीले जलविद्युत् उत्पादन गर्न सकिँदैन, त्यो सम्भव पनि छैन। तर, हामीले एउटा परिवारका लागि भनेर सौर्य ऊर्जा, बायोमास अथवा अन्य कुनै प्रविधिलाई प्रयोग गर्न सक्छौं।

ठूलो परिमाणमा ऊर्जा उत्पादनका लागि बढी सम्भाव्यता जलविद्युत्मा नै हो। तर, एउटा कुरा के भने ठूला जलविद्युत आयोजनाहरू पनि नवीकरणीय ऊर्जाको स्रोत हो भनेर देखाउनु छ। र, कसरी जलविद्युत् पनि नवीकरणीय ऊर्जा हो भन्ने कुराको परिभाषा पनि दिनुपर्ने आवश्यकता छ। जुन कुरा यो सम्मेलनबाट सम्भव हुन्छ भन्ने हामीले आशा लिएका छौं। सानो प्रविधिले दाँत कोट्याउने कुरा मात्र भयो। त्यसले पेट अघाउँदैन। पेट अघाउने गरी ऊर्जा त जलविद्युत्मार्फत् नै आउँछ। सानो उत्पादन क्षमताका जलविद्युत् आयोजनाहरू हामीसँग छन। तर, त्यसको प्रयोग राम्रोसँग हुन नसक्दा र किन भएन भन्ने कुरा आउँदा हाम्रो समाज, संस्कृति र सोचाईमा परिवर्तन आउनु जरुरी छ।

हाम्रो समाजमा थोरै पनि मेहनत नगरीकन सधैंका लागि विद्युत् प्रयोग गर्न पाऊ भन्ने सोचाइ हामीसँग छ।

सम्मेलनमा कुन–कुन मुलुकबाट कस्ता व्यक्तिको सहभागिता रहने छ ?

तीन दिनसम्म चल्ने सम्मेलनमा ३ सय जनाभन्दा बढीको सहभागिता रहने हाम्रो अनुमान छ। सम्मेलनको दोस्रो र तेस्रो दिनमा कार्यपत्र पस्तुत गर्ने व्यक्तिको मात्र सहभागिता हुनेछ। २५ बढी मुलुकका एक सयको हाराहारीमा कार्यपत्र प्रस्तुत हुनेछन्। कार्यपत्र प्रस्तुत गर्नका लागि आवेदन दिन नेपालीलाई १० हजार, सार्क मुलुकका प्रस्तुतकर्तालाई २० हजार र अन्य विदेशी प्रस्तुतकर्तालाई ३० हजार रुपियाँ शुल्क तोकेका छौं। त्यसैगरी विद्यार्थीलाई ५ हजार रुपियाँ दर्ता शुल्क राखिएको छ।

अहिले नेपालमा संघीयता कार्यान्वयनको चरणमा छ। नवीकरणीय ऊर्जालाई स्थानीय तहको कार्यक्षेत्रभित्र राखिएको छ। काठमाडौंमा हुने सम्मेलनले सबै स्थानीय तहलाई कसरी सम्बोधन गर्छ ?

सम्मेलनका लागि हामीले राखेका उद्देश्यहरू बृहत् र बहुआयामिक छन। संघीय सरकारमा आफूले व्यवस्थापन गर्न सक्ने खालको ऊर्जाका स्रोतलाई परिचालनको जिम्मा दिइएको छ। उहाँहरूलाई पनि एक किसिमले जनचेतना ल्याउने छँदैछ। सम्मेलनबाट निस्केको निश्कर्ष सरकारी तवरबाट सबै तहसम्म जान्छ। तर, उक्त निश्कर्षलाई स्थानीय तहका प्रतिनिधिले कसरी मनन गर्छन् भन्ने कुरा महत्वपूर्ण हो।

सरकारीस्तरबाट नवीकरणीय ऊर्जालाई प्रवद्र्धन तथा कार्यान्वयनको काम गर्ने संस्थालाई अनुसन्धानको क्षेत्रबाट सहयोग र हातेमालो गरिरहेका छौं। जहाँसम्म मलाई लाग्छ नेपालबाट सहभागी कार्यपत्रहरू संघीय संरचनालाई नै आधार मानेर अनुसन्धान गरिएको छ। आवश्यकताअनुसार उनीहरूलाई चाहिएको कुराको जानकारी सम्मेलनबाट लिन सक्छन्। नेपाल सरकारको पनि सहभागिता रहने हो भने स्थानीय तह र प्रदेश सरकारलाई पनि नवीकरणीय ऊर्जाको विकासमा एक खालको सकारात्मक सन्देश जान्छ भन्ने मलाई लाग्छ।

यो सम्मेलनले नवीकरणीय ऊर्जाको क्ष्ँेत्रमा भित्रिएका नयाँ प्रविधि, त्यसको आर्थिक मोडालिटी वा अध्ययन अनुसन्धान कुन विषयलाई बढी प्राथमिकतामा राखेको छ ?

यी तीनवटै विषयलाई सम्मेलनमा उत्तिकै महत्व दिइएको छ। काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङबाट आयोजना भएकाले प्राविधिक पक्ष पनि छ। कुन प्रविधिको कसरी निर्माण गर्ने र त्यसका लागि आवश्यक प्राविधिक पक्षहरू के–के हुने भन्ने विषयमा केन्द्रित रहनेछ। उदाहरणका लागि काठमाडौं विश्वविद्यालयले अर्गानिक फोटोसेलको अवधारणा ल्याएको छ। अर्गानिक फोटोसेल प्रविधिमार्फत् ऊर्जा खपत कम गर्न सकिन्छ भन्ने कुराको अनुसन्धान हामीले गरेका छौं। वनस्पतिले कसरी आफ्नो ऊर्जाको प्रयोग गरिरहेको छ, त्यो कुरा समाजमा त्यो किसिमको ऊर्जा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा यस प्रविधिको मुख्य विषय हो।

अर्को भनेको बनेको टर्वाइनको उत्पादकत्व कति छ भन्ने कुराको पनि अध्ययन गरेका छाँैं। यस्ता थुपै्र कुराहरू छन जसलाई हामीले प्रविधिको क्षेत्रमा समेटेका छौं। केही कार्यपत्रहरू नवीकरणीय ऊर्जाको समाजसँगको सम्बन्ध, न्यून कार्बन उत्सर्जनलगायत विषयवस्तुमा केन्द्रित छन। यस अर्थमा सामाजिक पक्षलाई पनि सम्मेलनले उत्तिकै महत्व दिएको छ। कार्यपत्र प्रस्तुतसँगै नयाँ प्रविधिको विकासकाबारे जानकारी र त्यसको बजारीकरणका बारेमा जानकारी दिने अवसर पनि पाउँछन्। विदेशबाट आएका व्यक्तिले पनि नेपालको नवीकरणीय ऊर्जाका क्षेत्रमा भएको सम्भाव्यताका बारेमा थाहा पाएर जान्छन्।

विभिन्न उत्पादनहरूको बारेमा पनि जानकारी सम्मेलनले दिने भएकाले त्यस क्षेत्रका कम्पनीलाई पनि आफ्नो उत्पादनको बजारीकरण गर्न तथा त्यसबारे जानकारी दिन सजिलो हुन्छ।

डिजेल, पेट्रोल, मट्टितेल, एलपी ग्यास जस्ता इन्धनमा हामी पूर्ण रूपमा परनिर्भर छौं। नेपालको परिपे्रक्ष्यमा वैकल्पिक ऊर्जाको लागत, प्रविधि, पहुँच विस्तार जस्ता कुरालाई सम्मेलनले कसरी सम्बोधन गर्छ ?

विदेशमा यस्ता सम्मेलन नियमित रूपमा आयोजना हुन्छन्। जसबाट नयाँ प्रविधि तथा अनुसन्धानका विषय तत्काल थाहा पाउन सकिन्छ। तर, केही गर्दै गरेन भने त केही पनि हुँदैन नि। यस अर्थमा यो सम्मेलनले एउटा स्पेस र फोरम दिने हो। जसले गर्दा नवीकरणीय ऊर्जामा पनि यस्ता खालका इन्धन छन् जसले केही हदसम्म आयातित इन्धनलाई प्रतिस्थापन गर्न सक्छौं। त्यसका लागि अध्ययन अनुसन्धान आवश्यक छ। ‘फोसाइल वेस्ड फ्युल’ प्रतिस्थापनका लागि हामीले संघर्ष गर्नैपर्छ। त्यो कसरी गर्न सकिन्छ भने हामीले यो फोरममार्फत् एउटै टेबुलमा बसेर छलफल गरेर निश्कर्ष निकाल्न सकिन्छ।

हामी कहाँ माथिल्लो तहमा मात्र कुरा हुन्छ। तर, कार्यान्वयन हुँदैन भनिन्छ, यो सम्मेलनबाट आएको निस्कर्षलाई कसरी कार्यान्वयनको बाटोमा लैजानुहुन्छ ?

राष्ट्रिय योजना आयोगलगायत नीति निर्माण क्षेत्रका प्रतिनिधिको पनि सहभागिता रहनेछ। त्यसकारण मैले के आशा गरेको छु भने जुन निश्कर्ष निस्कन्छ। त्यसलाई हामी कार्यान्वयनका लागि सबै क्षेत्रसँग सहकार्य गर्नेछौं। सम्मेलनमा अनुसन्धानकर्ता, इन्जिनियर, नवीकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ता, विद्यार्थी, तथा नीति निर्माण सबै तह क्षेत्रको सहभागिता छ। यसकारण पनि यसको प्रभावकारिताका विषयमा हामी सकारात्मक नै छौं।