कांग्रेस संसदीय दलको निर्वाचन २१ गते



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आगामी २१ गते निर्वाचन हुने भएको छ ।

संसदीय दलको निर्वाचन समितिको मंगलबार बसेको बैठकले नेता चयन का लागि २१ गतेका दिन निर्वाचनको मिति तोकेको हो । बैठकले निर्वाचन प्रारम्भ देखि मतदानको अन्तिम परिणाम घोषणा सम्मका सम्पुर्ण कार्य संञ्चालनका लागि निर्वाचन निर्देशिका पनि पास गरेको छ ।

त्यसैगरी निर्वाचन समितिका सचिवमा केन्द्रीय कार्यालयका सचिव केशव रिजाललाई तोकेको छ । संसदीय दलका नेताका लागि २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ । २१ गते अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बोलाईएकाले त्यस अघि नै नेता चयन गरेर सो को नतिजा संघीय संसद सचिवालयलाई जानकारी गराइसक्ने गरी तयारी गरिएको नेता चीनकाजी श्रेष्ठले जानकारी दिए ।

कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला र पुर्वमहामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् । यद्यपी सर्वसम्मतिबाट नै संसदीय दलको नेता चयन गर्नका लागि आन्तरिक छलफल भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्