३ नम्बर प्रदेशको मन्त्रीपरिषद विस्तार हुँदै, को–को बन्दै छन् मन्त्री ?



नेपाल समाचारपत्र, हेटौँडा ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सात प्रदेशमध्ये सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पौडेल मन्त्रिपरिषदलाई पूर्णता दिनमा भने अन्य प्रदेशभन्दा पछि देखिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको बताइएको छ । मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीबाट शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेबाट केशव स्थापित नियुक्त भइसकेका छन् ।

अब एमालेले तीनओटा मन्त्रालय पाउनेछ भने माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ । यद्यपी प्रदेश सरकारमा २२ जनासम्म मन्त्री बनाउन पाइनेमा वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरिसकेका छन् ।

एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको बताइएको छ भने ।
मुख्यमन्त्री पौडेल निकट स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएका छन् ।

साथै माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्