टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई थुनामा राख्ने अदालतकाे आदेश



कैलाली। आत्मसमर्पण गरेका प्रतिनिधिसभा सदस्यमा विजयी टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई अदालतले थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतले  साेमबार बयानपछि थुन्ने आदेश दिएको हो ।

फरार अवस्थामै राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा विजयी भएका चौधरीले सोमबार बिहान ११ बजे जिल्ला अदालतमा उपस्थित भएर आत्समर्पण गरेका थिए ।

चौधरी २० हजार ९ सय ३५ मत अन्तरसहित प्रतिनिधिसभामा विजयी भएका थिए । उनले ३४ हजार ३ सय ४१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । वाम गठबन्धनका उम्मेदवार मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत ल्याएकी थिइन् ।

कैलाली घटना लगत्तै फरार भएका चौधरीले प्रतिनिधिसभा सदस्यको लागि वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए । निर्वाचनमा विजयी भएपछि प्रमाणपत्र समेत वारेसनामा मार्फत नै माग गर्दै सर्वोच्च अदालत गुहारेका थिए । तर सर्वोच्चले अदालतको आदेश पालना नगर्नेलाई राज्यले न्याय दिन आवश्यक नरहेको जनाउँदै उनको माग विपरित फैसला गरेको थियो ।

२०७२ साल भदौ ७ गते मधेसवादी दलका कार्यकर्ताले एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको बर्बतापूर्ण हत्या गरेका थिए । एसएसपी न्यौपानेलाई भालाले घोचेर मारिएको थियो । आन्दोलनकारीले एक बालकको समेत हत्या गरेका थिए ।

घटना छानवीन गर्न सरकारले बनाएको समितिले मुख्य योजनाकार चौधरी नै भएको उल्लेख गरेपछि उनी फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्