पुँजी बजार भ्याटमुक्त बनाउन दबाब



काठमाडौं, (नेस)
पूँजी बजारलाई भ्याटमुक्त बनाउन लगानीकर्ताहरूले दबाब दिएका छन्। लगानीकर्तासँग सम्बन्धित विभिन्न संस्थाको संयुक्त बैठकले सो दबाब दिएको हो। पुँजी बजारका लगानीकर्तालाई हतोत्साहित गर्ने तथा पुँजी निर्माण र परिचालनमा नकारात्मक असर गरी समग्र आर्थिक विकास नै अवरुद्ध पार्ने काम भएको भन्दै उनीहरूले भ्याटको विरोध गरेका हुन्।

मूल्य अभिवृद्धि कर निर्देशिका, २०६९ मा शेयर निष्कासन तथा खरिद बिक्रीसँग सम्बन्धित सेवामा कर छुट हुने व्यवस्था रहेको बताउँदै उनीहरूले पुँजी बजारलाई नकारात्मक प्रभाव पार्ने प्रयत्न तत्काल फिर्ता लिन सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन्। पुँजी बजारलाई भ्याटरहित नबनाए कडा कार्यक्रम गर्ने पनि लागनीकर्ताहरूको चेतावनी रहेको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल, नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदी, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल र स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

आन्तरिक राजस्व विभागले ब्रोकर नं. ५२ क्रिस्टल कन्चनजंघा सेक्यु्रिटी, ब्रोकर नं. ५३ अक्सफोर्ड सेक्युरिटी र ब्रोकर नं. ५४ सुन्धारा सेक्युरिटीलाई भ्याट तिर्न पत्र काटेको थियो। तीमध्ये क्रिस्टल कन्चनजंघा सेक्युरिटीका सञ्चालक नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी हुन्।

नेप्से बढ्दा कारोबार रकममा गिरावट
काठमाडौं, (नेस)
चुनावपछि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढेको छ। बुधबार कारोबारमा आएका सबै समूहका परिसूचकमा सुधार आउँदा बजार बढेको हो।

बुधबार शेयर बजार १० दशमलव ५३ अंकले बढेर १ हजार ५ सय २० दशमलव ७४ को अंकमा रोकिएको छ। यसअघि बजार आइतबार ६ अंक, सोमबार २ अंक र मंगलबार १७ दशमलव ५४ अंकले घटेको थियो।
बुधबार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार करिब ६७ करोडको शेयर किनबेच भएको बजारमा बुधबार १ सय ६४ कम्पनीका १० लाख ६१ हजार ८ सय ५१ कित्ता शेयर ४८ करोड ५९ लाख ११ हजार २ सय ९८ रुपियाँको शेयर किनबेच भए।

बुधबार कारोबारमा आएका १० समूहमध्ये बीमा समूह सर्वाधिक ५२ दशमलव ४८ अंकले बढेको छ। त्यस्तै होटल समूह ३८ दशमलव शून्य ९ अंक र उत्पादनमुलक समूह ३२ दशमलव ८१ अंकले बढे।

बुधबार सबैभन्दा बढी शेयर कारोबार हुनेमा ग्लोबल आईएमई बैंक शीर्षस्थानमा रह्यो। बुधबार बैंकको ५ करोड ४० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै कुबेर मर्चेन्ट फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ६३ प्रतिशतले बढ्दा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ३ दशमलव ९८ प्रतिशत शेयर मूल्य गुमाए।

प्रतिक्रिया दिनुहोस्