‘मूूड’ चलाउने कि ‘मूूड’ले चलाउने ?



सुशील देवकोटा

अहिलेको आधुनिक समाजमा ‘मूूड’ शब्दले निकै व्यापकता पाउँदै छ र सँगै यसको महत्व पनि दिन–प्रतिदिन बढ्दै गैरहेको छ। केही गर्नुपर्यो भने अहिले मूूड छैन भनिदियो, सकियो। कतै जानुपर्यो, पढ्नुपर्यो वा कसैले कुनै अनुरोध गर्यो भने अथवा त्यो काम वा अनुरोध टार्नु छ भने अहिले मेरो मूूड छैन भनेको प्रायः सुन्न पाइन्छ। हाकिमसँग कुनै कुराको अनुरोध गर्नुपर्यो भने उनको मूूड हेर्नुपर्छ भनेको धेरै जागिरेको मुखबाट निस्किरहने वाक्य हो। जो–जति ठूूलो पदमा वा स्थानमा पुग्यो उसको मूूडको महत्व उति धेरै हुने बडो गजबको चीज भएको छ यो ‘मूूड’ !
यो ‘मूूड’ले अहिले यति व्यापकता पाएको छ कि हरेक क्षेत्रमा यसले आफ्नो रवाफ जमाएको छ। नेताहरूको मूूड भएन भने जनताको गुनासो नसुन्ने, अभिनेताको मूूड भएन भने अभिनय नै नगर्ने, हाकिमको मूूड भएन भने कर्मचारीले पाउनुपर्ने सुविधा नपाउने आदि कुरा अहिले सामान्य भएका छन्।

लोग्नेको मूूड भएन भने खाना नै नखाने, स्वास्नीको मूूड भएन भने घरमा खानै नपाक्ने, बच्चाहरूको मूूड भएन भने पढ्दै नपढ्ने आदि पनि अहिले साधारण मात्रै नभएर घर–घरको कहानी भएका छन्। एकजनाको मूूड नहुँदा वा मूूड अफ हुँदा त्यसले अर्कोलाई वा अन्य धेरैलाई असर गरिरहेको हुन्छ भन्नेचाहिँ यी मूडमा चल्नेहरूले या त बुझ्दैनन् या बुझ्नै चाहँदैनन्। ‘मूूड अफ’ छ भनिदियो सकियो। अब यो मूड भन्ने कुरा पनि बिजुलीजस्तै भए पो त अफ छ भन्दा स्वीच थिचेर अन गरिदनु त ⁄ यो मूूड भन्ने चीज त्यसरी बिजुली जसरी स्वीचबाट ‘अन⁄अफ’ हुने कुरा होइन रहेछ त।

‘मूूड’बाट चल्ने मानिसको मूूड अफ हुनलाई फेरि धेरै ठूूलो कारण पनि नचाहिने रै’छ। हाकिमले करायो वा गाली गरेर कर्मचारीको मूूड अफ भएमा त्यसको असर उसको घर परिवारले समेत भोग्नुपर्ने कस्तो अचम्मको कुरा हो यो मूूड। नेताको मूूड अफ हुनुको घाटा देशले व्यहोर्नुपर्ने, अभिनेताको मूूड अफको घाटा निर्माताले खप्नुपर्ने अनि परिवारको कुनै सदस्यको मूूड अफ हुनुको असरचाहिँ त्यो घरको सुख, शान्ति र आपसी प्रेममा पर्ने, यो मूूड वास्तवमै अहिलेको समयमा निकै बलवान् छ। कहिलेकाहीँ त यो मूूड अफ हुने कुरा सरुवा रोग जसरी पनि पो सर्छ त। कसरी यो सरुवा रोग जसरी सर्छ त भन्ने प्रश्नमा यो एउटा ठट्यौली सान्दर्भिक होला कि ?

प्रधानमन्त्रीकी स्वास्नीले आफ्नो दाजु वा भाइलाई कुनै राम्रो देशको राजदूूत नियुक्त गर्न भन्छिन्। प्रधानमन्त्रीबाट आफ्नी गृहमन्त्रीको यो आदेशको तुरुन्तै पालना भए त केही हुँदैन तर अलिकति मात्रै ढिलो भयो भने प्रधानमन्त्राणीको मूूड अफ हुन्छ र प्रधानमन्त्रीले हुत्तिहारा भनेर गाली खान्छन्। आफ्नी स्वास्नीको गालीले मूूड अफ भएका प्रधानमन्त्रीले मन्त्रीलाई गाली गर्छन् अनि मन्त्रीको मूूड अफ हुन्छ। त्यसपछि मन्त्रीले सचिवलाई गाली गर्छन्, सचिवले उपसचिवलाई र अन्त्यमा सुब्बाबाट पियनले गाली खान्छन् तर यसपछि पनि यसको अन्त्यचाहिँ हँुदैन। सुब्बाबाट गाली खाएर मूूड अफ भएका पियनले त्यो रिस घर गएर पोख्छन्। यसरी प्रधानमन्त्रीको अफ भएको मूूड सरुवा रोग जसरी सर्दै पियनसम्म आइपुग्छ र प्रधानमन्त्रीकी स्वास्नीको आफ्नो स्वार्थ पुूरा नहुँदा भएको मूूड अफको सजायँ पियनको परिवारले समेत भोग्नुपर्छ।

तर के यो सही हो त ? के यसरी मूूडको दास भएर चल्नै पर्ने आजको समयको बाध्यता हो त ? हो, हाम्रो जस्तो देश जहाँ सामान्यभन्दा सामान्य कुरा पनि हाम्रो लागि कठिन भएको छ, त्यस्तो ठाउँमा मानिस तनावमा हुनु अस्वाभाविक होइन। यो तनाव हामीले प्रायः बिहान उठेदेखि झेल्नुपर्छ। जब हामीले धारा खोल्छौं र पानीको साटो धाराबाट हावा मात्रै आउँछ। पानी नहुनेबित्तिकै घरका धेरै काम रोकिन्छन्, यो सत्य हो। तर अब दिनभरि तनाव लिएर बस्यो भने अर्को दिन बिहान धाराबाट मूूल फुटेजसरी पानी आउँछ त ?

आउँदैन नि ⁄ त्यसपछि कुरा आउँछ महँगीको ⁄ देशमा स्वार्थी नेताको हालिमुहाली भएपछि नेताहरूलाई कमिसन दिएको भरमा व्यापारीहरूले मनपरि भाउ बढाउँछन्। शिक्षा र स्वास्थ्यजस्तो पवित्र कुरालाई व्यापार बनाउनेहरू पनि यसबाट अलग छैनन्। तर के तनाव लिँदैमा वा तपाईंले मूूड अफ गरेर बस्दैमा त्यो मनपरितन्त्र हट्छ र बजारभाउ घट्छ त ? पक्कै घट्दैन। यसरी तनावमा बस्ने वा मूडको दासहरूको सधैँ एउटै तर्क हुने गर्छ– मलाई जस्तो तिमीलाई वा तपाईंलाई परेको भए थाहा हुन्थ्यो।

तर कि त उनीहरूलाई नै यो थाहा छैन वा थाहा पाउन चाहँदैनन् कि यो भौतिकवादी संसारमा प्रायः हरेक मानिस मात्रै होइन देशहरूसमेत तनावमा छन्। अमेरिकाजस्तो शक्तिशाली देशलाई उत्तर कोरियाले तनाव दिएको छ। चीन र भारतलाई डोक्लामको सीमाले तनाव दिएको छ। पाकिस्तान र भारतलाई काश्मीर समस्याले तनाव दिएको वर्षौं भैसक्यो।

बिल गेट्सलाई आफ्नै किसिमको तनाव छ, अम्बानीलाई आफ्नै किसिमको तनाव छ। कर्मचारीलाई तलव वृद्धि र प्रमोसन नहुँदा तनाव हुन्छ भने एउटी गृहिणीलाई बढ्दो बजारभाउले तनाव दिन्छ र विद्यार्थीलाई परीक्षाले तनाव दिन्छ। तनावबाट सम्पूूर्णरूपमा मुक्त त शायदै कोही होला आजको समयमा। तर के तनाव छ भनेर मूूड अफ गरेर बस्दाचाहिँ त्यो तनाव हटछ त ? तनाव जुन विषयले दिएको हो, जुन कुराले गर्दा मूड अफ भएको हो, त्यसको समाधान पो खोज्नुपर्छ। एउटा कुराले दिएको तनावको असरले यदि तपाईंको जिन्दगीको अन्य पक्षमा पनि नकारात्मक असर गर्न थाल्यो भने त्यो झन् कष्टकर अवस्था हुन्छ। मूूड अफ छ भनेर बस्दैमा तपाईंका छोराछोरीले तपाईंले चाहे जसरी पढ्न थाल्दैनन्, चौबीसै घन्टा बिजुली आपूर्ति हुँदैन, यातायात र यात्रा सहज हुँदैन, कृत्रिम अभाव हट्दैन र महँगी घट्दैन, मौसम परिवर्तन हुँदैन। यी सबै यस्ता कुरा हुन्, जुन हाम्रो नियन्त्रणभित्र पर्दैनन्। अनि जुन कुरा हाम्रो नियन्त्रणभित्र पर्दैनन्, त्यस कुराको लागि हामीले तनाव लिएर आफ्नो मूूड अफ बनाएर बस्नुको परिणामचाहिँ के त ? हो, यसमा कतिपय कुरा यस्ता पनि छन्, जुन परिवर्तन हुनको लागि देश सञ्चालन गर्नेहरूको मानसिकता परिवर्तन हुनु जरुरी छ।

तपाईंले लिने अनावश्यक तनावले वा बारम्बार अफ हुने तपाईंको मूडले तपाईंलाई त शारीरिक र मानसिकरूपमा नकारात्मक असर गर्छ नै, तपाईंको सम्बन्धमा समेत नकारात्मक असर गर्छ र सम्बन्धको बीचमा खाल्डो निर्माण गर्न थाल्छ। मूड अफ भयो भनेर तपाईंले मनका भावना व्यक्त गर्न छोड्नुभयो भने तपाईंका मनमा गुम्सेका कुराले नै तपाईंलाई झन् तनाव दिन थाल्छ र झन् धेरै मूड अफ हुन थाल्छ। अनि त्यसले तपाईंको र तपाईंका प्रियजनको बीचमा झन् धेरै दूरी बढाउन थाल्छ, झन् ठूलो खाल्डो निर्माण गर्न थाल्छ। अनि, कहिलेकाहीँ त यो खाल्डो यति गहिरो भैदिन्छ कि चाहेर पनि तपाईंले फेरि यसलाई पुर्न सक्नुहुन्न। त्यसैले यदि तपाईंलाई कुनै कुराले तनाव दिएको छ भने त्यो कुरा आफ्नाहरूसँग भन्नुस्, समाधान निकाल्ने प्रयास गर्नुस्। भनाइ नै छ, दुनियाँमा कुनै पनि त्यस्तो समस्या छैन जसको समाधान नहोस्। अब तपाईंले भाँडोमा चामल नै नहाली भात किन पाक्दैन भन्नेजस्ता समस्या तेस्र्याउनुभयो भने कुरो बेग्लै हो। तर, तनाव जुन कुराले भएको हो, जुन समस्याले गर्दा मूड अफ भएको हो, त्यसमा केन्द्रित भएर छलफल गर्नुस् र समाधान खोज्नुस्। तर, आफ्ना अन्य परिस्थिति र सम्बन्धलाई यथावत् चलाउनुस्। यहाँ स्मरण गर्नै पर्ने कुरो के हो भने, टाउको दुखेको छ भने खुट्टा सुम्सु्म्याउँदा टाउको बिसेक हँुदैन।

एउटा पुरानो भजन छ, ‘सुखके सब साथी, दुखमे ना कोई।’ यस्तो हुनु गलत होला तर यो आजको युगको वास्तविकता हो। तसर्थ तनाव छ, मूड अफ छ भने त्यसलाई व्यक्त गर्नुस्, भन्नुस् र समाधान खोज्नुस्। आँखाको भाषा बुझ्ने वा मनको कुरा पढ्ने भन्ने कुराहरू किताबमा पढ्दा मात्रै सुन्दर लाग्छन्। व्यावहारिक जिन्दगीमा यो निकै कठिन कार्य हो। अहिलेको व्यस्त समयमा मानिससँग त्यस्तो अव्यक्त भाषा पढ्ने र बुझ्ने समय र धैर्यता नहुन सक्छ। जिन्दगीमा तनाव हुन्छ र त्यो तनावले मूड अफ पनि हुन्छ तर अब मूड अफ भयो भनेर हरेक सम्बन्धलाई तनाव दिएर सम्बन्धलाई नै अफ गर्नु बुद्धिमानी होइन। त्यसैले अब तपाईंले यो निर्णय गर्ने हो कि तपाईंले मूड चलाउने कि मूडले तपाईंलाई चलाउने !

प्रतिक्रिया दिनुहोस्