राजनीतिक दौडमा कूटनीतिज्ञ असफल



टीका बन्धन, काठमाडौं
कूटनीतिक पद त्यागेर राजनीतिमा पुनः सक्रिय हुनुभएका दीपकुमार उपाध्यायलाई वाम गठबन्धनले धक्का दिएको छ। माओवादी सेनाका पूर्वडेपुटी कमान्डर चक्रपाणि खनाल ‘बलदेव’ ले निवर्तमान राजदूत उपाध्यायलाई पराजित गर्नुभएको हो।

दलीय भागबन्डामा नेपाली कांग्रेसको कोटामा भारतका लागि राजदूत रहनुभएका उपाध्याय गत दशैंलगत्तै राजदूत पदबाट राजीनामा गरेर चुनाव लड्न स्वदेश फर्कनुभएको थियो। कपिलवस्तु–१ बाट प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार उपाध्यायलाई माओवादीका खनालले ९ सय ४६ मतले पराजित गर्नुभएको छ। २९ हजार ७ सय ९९ मतका साथ खनाल विजयी हुँदा उपाध्यायले २८ हजार ८ सय ५३ मत प्राप्त गर्नुभएको छ।

चुनावमा जित–हार स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जित–हार स्वाभाविक कुरा हो, खनालजीलाई बधाई दिन चाहन्छु, चुनावले लोकतन्त्र र संविधानलाई संस्थागत गर्ने वातावरण बनाएको छ।’ ‘मेरो जित–हार सामान्य कुरा हो, निर्वाचनसँगै मुलुक अब समृद्धितर्फ अघि बढ्ने वातावरण बनेको छ’ –उहाँले भन्नुभयो।
लोकतन्त्र र राजनीतिमा संयम र धैर्यता अत्यावश्यक हुने भएकाले आफू र आफ्नो दल रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिकामा क्रियाशील रहने उपाध्यायले बताउनुभयो।

उपाध्यायले आफ्नै निर्वाचन क्षेत्र कपिलवस्तुबाट आइतबार साँझ भन्नुभयो– ‘अब मुलुकलाई आर्थिक समुन्नतिमा डोहोर्याउने नागरिक सर्वोच्चतासहितको सरकार आवश्यक छ, त्यसका लागि कांग्रेसले सत्ता पक्षलाई सधैं खबरदारी गर्नेछ।’
कांग्रेसमा स्वच्छ छविको पहिचान बनाउनुभएका उहाँ यसअघि पहिलो संविधानसभा निर्वाचनमा कपिलवस्तुबाट निर्वाचित हुनुहुन्थ्यो। अक्षमको आरोपका साथ एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूत बनेको एक वर्षभित्रैमा उहाँलाई फिर्ता बोलाएको थियो।
फिर्ता बोलाइएको केही महिनाभित्रैमा यसअघिको माओवादी–कांग्रेस नेतृत्वको सरकारले उपाध्यायलाई पुनः भारतकै लागि राजदूतको भूमिकामा दोहोर्याएको थियो।

राजदूतबाट फिर्ता भएलगत्तै त्यही भूमिकामा दोहोरिँदाको प्रसंग राजनीतिका अतिरिक्त कूटनीतिक वृत्तमा निकै चर्चा छाएको थियो। भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाएको जटिल परिस्थितिका बेला आफूले खेलेको भूमिका मुलुककै पक्षमा रहेको र तत्कालीन सरकारले आफूमाथि लगाएको आरोप गलत सावित भएको उहाँ स्मरण गर्नुहुन्छ।

आफूले सिकेको कूटनीतिक र राजनीतिक ज्ञान बाँड्न सधैं क्रियाशील रहने बताउँदै उपाध्यायले भन्नुभयो– ‘ज्ञान र अनुभव जति बाँड्यो त्यति बढ्छ, पार्टीले दिएको जिम्मेवारी र भूमिकामा सधैं क्रियाशील रहने प्रयासमा रहन्छु।’

ओलीको रेकर्ड सहितको जित
काठमाडौं, (नेस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा बढी मत ल्याएर प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। ओली ५७ हजार १ सय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मतमध्ये ओलीको मत अत्यधिक हो। ओलीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८ हजार २ सय ५७ मत ल्याउनुभएको थियो। अधिकारीले त्रिचन्द्र कलेजमा प्राध्यापन पेसा छोडेर ओलीविरुद्ध कांग्रेसबाट उम्मेदवारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्