भोजपुरमा तीनचोटी हारेका ज्ञानेन्द्रबहादुर सुनसरीमा सजिलै विजयी



सुनसरी । भोजपुरमा तीन पटकसम्म संसदीय चुनावमा प्रतिस्पर्धा गर्दा केबल निराशा मात्रै हात लागेपछि सुनसरी झरेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले एकै पटकमा जीतको स्वाद चाखेका छन् ।

भोजपुरमा भएका तीनवटा चुनावमा कांग्रेसकै अन्तरघातको शिकार भएर पराजय भोग्न बाध्य बहालवाला अर्थमन्त्री कार्कीले सुनसरी क्षेत्र नम्बर ४ बाट सजिलै जीत दर्ता गराएका हुन्।

सुनसरी ४ मा उनले ३२३४७ मत प्राप्त गर्दै प्रतिनिधिसभाको स्थान पक्का गरेका हुन् । उनीसँग पराजित नेकपा एमालेका रमेश श्रेष्ठले २५७५० मत ल्याउन सफल भए ।

२०५१, २०५६ र २०६४ सालको निर्वाचनमा लगातार पराजित भएका कार्कीले केही वर्षअघिदेखि नै सुनसरीमा झर्ने गरी तयारी थालेका थिए । राज्यपुनर्संरचनाका क्रममा चुनाव क्षेत्रको भूगोलको विभाजनदेखि कांग्रेसको पकड क्षेत्रको सुरक्षामा पनि उनी सक्रिय भएका थिए ।

अर्थमन्त्री भएपछि उनले सुनसरी ४ मा चुनाव जित्ने योजनाका साथ विकासे बजेट लगेर खर्च गर्न पनि भ्याएका थिए । कम बोल्ने कार्की यो पटक चतुर राजनीतिक खेलाडीकारूपमा पनि निस्किए । उनले भोजपुरमा संघीय समाजवादी फोरमका अजम्बर काङमाङलार्इ टिकट दिएर सुनसरी चारमा फोरमको भोट रूखमा पार्न सफल भए ।

पहिले गिरिजाप्रसाद कोइरालाले चुनाव जितेको यो क्षेत्रमा फोरम अध्यक्ष उपेन्द्र यादव पनि चुनाव लड्ने तयारीमा थिए । तर, उनले राजनीतिक चातुर्य प्रयोग गर्दै उपेन्द्र यादवलार्इ सप्तरी २ मा पठाएर फोरमको पकड क्षेत्र इनरूवासहितको भोट पनि तान्न सफल भए ।

उनको यो प्रयोग अजम्बरको हकमा सफल नभए पनि उपेन्द्र र ज्ञानेन्द्र दुवैको हकमा भने सफल भयो । अजम्बर भोजपुर प्रदेश सभा क मा एमालेका राजेन्द्र रार्इसँग नराम्ररी पराजित भए । जहाँ कांग्रेसले मसाल चिन्हमा भोट हाल्ने सहमति भएको थियो ।

लगातार तीन पटक चुनाव हारेपछि कार्की २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए । तर, शेरबहादुर देउवाका विश्वासपात्र भएकाले उनले अर्थमन्त्री हुने अवसर पाए । भोजपुरबाट लगालग चुनाव हारेर पनि कार्की २०६३ सालमा अन्तरिम सरकारको जलश्रोत मन्त्री बन्न सफल भएका थिए ।

प्रतिनिधिसभामा भोजपुरबाट उम्मेदवारीका लागि सिफारिसमा परे पनि कार्कीले गृह जिल्ला छाडेका थिए । वाम गठबन्धन भएपछि भोजपुरमा कांग्रेसले जित्न कठिन थियो । त्यहीकारण भोजपुर छाड्ने कार्कीको निर्णय अहिले सही सावित भयो।

कांग्रेसभित्र शालिन नेताका रुपमा चिनिन्छन् ज्ञानेन्द्रबहादुर कार्की । कार्कीले २०३९ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर विद्यार्थी राजनीतिलाई अगाडि बढाएका थिए। शेरबहादुर देउवाका नजिकका केही नेतामध्ये एक उनी पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नु पर्ने अडान राख्छन् ।

प्रतिक्रिया दिनुहोस्