काठमाडौंका मतदातामा कम उत्साह



नेपाल समाचारपत्र
काठमाडौं
सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम उत्साह देखियो। काठमाडौंमा मतदाताले भिडभाडविना नै मतदात गरेका छन्।

मतदानस्थलमा भिड कतै पनि देखिएन। निर्वाचनको प्रचार प्रसारको क्रममा कम उत्साह देखाएका काठमाडौंका मतदाताले मतदान गर्न पनि खासै उत्साह देखाएनन्।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७ सय ३१ र मतदानस्थल ३ सय ९ मा मतदाताहरूले शान्तिपूर्णरूपमा मतदान गरेका थिए। काठमाडौंमा रहेका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १ सय ७१, प्रदेश सभा (क) मा १ सय ७ र प्रदेशसभा (ख)मा १ सय १५ रहेका छन्। दश निर्वाचन क्षेत्रमा कुल मतदाता संख्या ६ लाख ३० हजार ४ सय ६० छन्।

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्काइलार्क स्कुल धापासीबाट मतदान गर्नुभयो। नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट मतदान गर्नुभएको थियो। एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचंकु पञ्चधारा मतदान केन्द्रबाट मतदान गर्नुभयो भने रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं महानगरपालिका–२७ वडा अन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गर्नुभयो।

त्यसैगरी, नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्नुभयो भने एमालेका युवा नेता डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ मा पशुपति बहुमुखी क्याम्पस, चाबहिल केन्द्रबाट मतदान गर्नुभयो।
काठमाडौं क्षेत्र नं. ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय माविमा मतदान गर्नुभयो। काठमाडौं क्षेत्र नं ९ बाट वाम गठबन्धनका साझा उम्मेदवार कृष्णगोपाल श्रेष्ठले पनि बल्खुको परीक्षा नियन्त्रण कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो। काठमाडौं क्षेत्र नं. ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जितले काठमाडौं महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको थियो।

यस्तै, काठमाडौं क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेदवार राजन केसीले भने काठमाडौं क्षेत्र नं. ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गर्नुभयो।

युवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएका केसीको पुख्र्यौली घर चोभारमा भए पनि उहाँको मतदाता नामावली भने काठमाडौं क्षेत्र नं ८ मा रहेको छ।

त्यस्तै, काठमाडौं क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यले काठमाडौं क्षेत्र नं ९ अन्तर्गत चन्द्रागिरि नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्