चिनियाँ समृद्धिबाट सिक्नुपर्ने पाठ



ढुनबहादुर बुढाथोकी

समाजवादी शासन व्यवस्था अवलम्बन गरेको चीन आर्थिकरुपले बजारमुखी अर्थतन्त्र हो। सन् १९७८ ताका केन्द्रीकृत अर्थनीतिलाई खुला अर्थनीतिमा रुपान्तरण गरियो। माओपश्चात् नेतृत्व सम्हाल्न पुगेका देङस्यापिङले त्यो जोखिम उठाए। आर्थिक उदारीकरणबाट लाभ लिन चीन चुक्दै चुकेन। खुला अर्थतन्त्रपश्चात् अधिकांश वस्तुहरुको मूल्य नियन्त्रण खुला गरियो। पूँजी बजार फराकिलो पारियो। स्टक एक्सचेन्स स्थापना गरिए। सयौं कम्पनीहरु सूचीकृत भए। व्यावसायिक मिलान तथा मर्जर प्रोत्साहित गरियो। अधिकांश साना तथा मझौला आकारका सार्वजनिक संस्थानहरु निजीकरण गरिए। सन् १९९० को शुरुवातमा ३ लाख सार्वजनिक संस्थाहरु रहेकोमा हाल १ सयको हाराहारी सीमित गरिए। यसरी ३ दशकमा चीनमा अभूतपूर्व तरक्की गरियो। पछिल्लो २ दशकयता औसत ९.५ प्रतिशतका दरले आर्थिक वृद्धि भइरहेको छ। परिणामस्वरुप चीन विश्वको पहिलो उदीयमान अर्थतन्त्रको ताज पहिरिन सफल भएको हो। समाजवादभित्र खुला अर्थतन्त्र अटाउन र मौलाउन सक्छ भन्ने नजिर हो यो।

आज विश्वभर हवाई सम्बन्ध छ। देशभरि यातायातको सञ्जाल छ। विश्वकै शीघ्र रेल कुदिरहेको छ। नदीमाथि विशाल पुलहरु निर्माण भएका छन्। निर्यातजन्य वस्तु उत्पादनका लागि विशेष आर्थिक क्षेत्र मौलाएका छन्। निर्यातको उद्देश्यसाथ ठूलो परिमाणमा पूँजीगत वस्तु उत्पादन भइरहेका छन्। उत्पादनलाई रोबोटाइजेन गरिएको छ। संघाई, सिगात्से, सिचुवान विश्व आर्थिक केन्द्रको रुममा स्थापित छन्। जबकि १ अर्ब ४१ करोड जनसंख्या रहेको मुलुकमा दोहोरो अंकको आर्थिक वृद्घि कुनै मजाक होइन।

चीनको आर्थिक वृद्घिको मुख्य चाबी तव्रि औद्योगिकीकरण हो। सांस्कृतिक क्रान्तिपश्चात् सन् १९५८ बाट औद्योगिक विकासको गोरेटोमा डोरिएको हो। अहिले विश्वव्यापी औद्योगिक उत्पादनमा चीनको हिस्सा करिब २० प्रतिशत छ। चीनले स्टिल, सिमेन्ट, कोइला, बिजुली, मेसिनरी, इलोक्ट्रोनिक्स, फुटवयर, गार्मेन्ट्स, घरयासी सामग्रीलगायत करिब २ सय औद्योगिक वस्तुहरु विश्वभर फिँजाइरहेको छ। वस्तुतः चीन २ सय ३० वर्ष साम्राज्य भोगेको मुलुक हो। प्रस्ट योजना, राजनीतिक स्थायित्व र कडा परिश्रमका कारण चीनले पछिल्लो ३ दशकमा चामत्कारिक तरक्की गरेको हो। भलै उक्त कालखण्ड हाम्रा निमित्त अभिशाप बन्यो। चीनको समृद्धिबाट सिक्न सकिने र सिक्नुपर्ने थुपै्र कुराहरु छन्।

खुला अर्थतन्त्र अंगिकारपूर्व चीनमा भोकमरीको प्रकोप थियो। देङसाउपिङले कृषकलाई सम्झौतासहित इन्सेन्टिबको व्यवस्था गरे। राज्यले महँगो मूल्यमा स्वदेशी अनाज खरिद गर्ने नीति लियो। महँगो मूल्यमा उपज बिक्री गर्न पाउँदा कृषक उत्पादनमा अभिप्रेरित भए। कृषिक्षेत्र व्यावसायिक बन्दा अनाजको उत्पादन वृद्घि भयो। फलस्वरुप भोकमरी भाग्न बाध्य भयो। अहिले पनि चीन खाद्यान्नमा ९५ प्रतिशत स्वावलम्बी छ। आर्थिक समृद्धिको निमित्त कृषिक्षेत्रको व्यवसायकिरण अपरिहार्य छ भन्ने कुरा चीनबाट सिक्नुपर्ने प्रथम पाठ हो।

कृषिक्षेत्र व्यवसायीकरण हुँदा कृषिमा श्रमशक्तिको बचत हुन गयो। उक्त श्रमशक्तिलाई स–साना उद्योगमा आकर्षित गरियो। लाखौं जनशक्ति उत्पादनमूलक कार्यमा सामले भए। ग्रामीण क्षेत्रको आय वृद्घि हुन पुग्यो। ग्रामीण क्षेत्रमा रहेको जनशक्ति औद्योगिकीकरणमा उपयोग गरियो। बिस्तारै श्रमिकको अवस्था सुध्रन पुग्यो। फलस्वरुप श्रमिक मालिक बन्ने क्रमको शुरुवात भयो। तिनीहरुले स–साना कारखाना खोल्न थाले। बिस्तारै स–साना कारखानाका मालिक ठूला उद्योगपतिमा रुपान्तरण हुन पुगे। उत्पादनमूलक क्षेत्रमा लगानीकर्ता उदास भएको सन्दर्भमा औद्योगिकीकरणको जग घरेलु तथा साना उद्योगबाटै बसाल्न सकिन्छ भन्ने चीनबाट सिक्नुपर्ने अर्को पाठ हो।

सन् १९६६ मा माओले चीनमा सांस्कृतिक क्रान्ति गरे। ती ताका समयमा ९० प्रतिशत जनताको बसोबास गाउँमा थियो। चीनमा आर्थिक समृद्धिको शुरुवात गाउँबाट प्रारम्भ भयो। चीन विगत ३० वर्षदेखि सामाजिक र आर्थिक सुधारको पथमा छ। नेपालका ८४ प्रतिशत मानिस गाउँमा बसोबास गरिरहेको सन्दर्भमा आर्थिक र सामाजिक विकास तथा परिवर्तनको केन्द्रविन्दु बहुसंख्यक जनसंख्या रहेको ग्रामीण इलाकाबाट हुनुपर्छ भन्ने चीनबाट सिक्नुपर्ने तेस्रो पाठ हो।

चीनले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतमा राखेको छ। जीडीपीको करिब ४ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गरिरहेको चीनमा २ हजार ७ सय विश्वविद्यालय तथा क्याम्पसहरु छन्। विश्वविद्यालय तथा क्याम्पसमा करिब ४ करोड २० लाख छात्रछात्रा अध्यनरत छन्। ७ वटा विश्वविद्यालयले फिनल्यान्डको कुल जनसंख्याभन्दा अधिक स्नातक उत्पादन गरिरहेका छन्। शैक्षिक क्षेत्रमा बृहत् लगानी, गुणस्तरीय शिक्षा, रोजगारमूलक शिक्षा विनाआर्थिक समृद्धि असम्भव छ भन्ने चीनबाट सिक्नुपर्ने चौथो पाठ हो।

५६ सांस्कृतिक समूह रहेको चीन आफैंमा विविधताको मुलुक हो। चीनमा मूलभूतरुपमा जापानिज, कोरियन र भियतनामी संस्कृति छ। अहिले पनि चिनियाँ संस्कृति र पहिचान बचाऊ ३ सय कल्चरल सेन्टरहरु खुलेका छन्। कृश्चिनियटी माइनरटीमा हुँदाहुँदै पनि विश्वको सबैभन्दा ठूलो बाइबल छापाखाना छ। जातीय तथा सांस्कृतिक पहिचान, सामाजिक तथा सांस्कृतिक सहिष्णुता, संस्कृतिको व्यावसायिक विकास आर्थिक समृद्धिको द्योतक हुनसक्छ भन्ने चीनबाट सिक्नुपर्ने पाँचौं पाठ हो।

चीनमा आर्थिक अनियमिततामा संलग्न राष्ट्रसेवकलाई फाँसी, आजीवन कारावास, सम्पूर्ण सम्पत्ति जफत र जीवनभर कुनै दलको राजनीति गर्न नपाउनेजस्ता कठोर कानुनी व्यवस्था छ। सोही प्रावधानअनुरुप सन् २०१५ मा जो यो क्याङ आजीवन कारावासमा परे। जो चिनियाँ सुरक्षा मामिलाका पूर्वप्रमुख थिए। भ्रष्टाचार हुनु भनेको स्रोत–साधनको दुरुपयोग हुनु हो। नेपाल भ्रष्टाचार हुने मुलुकमा पर्दछ। सन् २०१५ मा १६८ देशमध्ये १३० औं स्थानमा छ। ऐन, नियम, कानुनको कडा परिपालना, आर्थिक अनुशासन, जवाफदेहिता र सुशासनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने चीनबाट सिक्नुपर्ने छैटौं पाठ हो।

चीनले निर्यात प्रवद्र्धनका लागि पूर्वी कोस्ट्रल क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गर्यो। सन् १९८० मा १ करोड ३० लाख जनसंख्या रहेको एउटा मत्स्य गाउँ महानगरमा परिणत हुन पुग्यो। उक्त महानगरले सन् २०११ मा ४ सय १५ बिलियन अमेरिकी डलर बराबरको निर्यात गर्यो। जुन चीनकै उच्च थियो। उक्त महानगर अरु थिएन, सेन्जेन थियो। उत्पादन तथा निर्यातमूलक उद्योगको प्रवद्र्धन आर्थिक समृद्धिको कडी हो भन्ने कुरा चीनबाट सिक्नुपर्ने सातौं पाठ हो।

चीनमा सन् १९८० पश्चात् तीव्र शहरी विकास भइरहेको छ। कृषिक्षेत्रको यान्त्रीकरण हुँदा ग्रामीण क्षेत्रमा श्रमशक्ति बचत भई शहरी विकासमा मद्दत मिलेको हो। अहिले ७० करोड चिनियाँ शहरमा बस्छन्। चीनमा साना–ठूला करिब ६ सय ५७ शहर छन्। तीमध्ये १ सय अधिक ठूला शहर छन्। ठूला शहरको जनसंख्या १० करोडसम्म छ। सन् २०३० सम्ममा ३ सय मिलियन वा ३० करोड जनता शहर मोडिँदै छन् पनि। चीनको सबैभन्दा राम्रो पक्ष भनेको ग्रामीण संस्कृतिलाई शहरी संस्कृतिमा रुपान्तरण गरिएको छ। बढ्दो शहरीकरण व्यवस्थापन गर्न अपार्टमेन्ट र हाउजिङलाई प्रोत्साहन गरिएको छ। शहरीकरणमा वृद्धि हुँदा घरायसी आवश्यकताको आकार फराकिलो हुन पुगेको छ, जसले गाउँको उत्पादनलाई प्रोत्साहन गरिरहेको छ। शहरीकरण आफैंमा घातक हुँदैन, समुचित व्यवस्थापन गर्दा अर्थतन्त्र झनै सबल हुन्छ भन्ने चीनबाट सिक्नुपर्ने आठौं पाठ हो।

नेपालमा सडक, जलविद्युत् आयोजना, खानी उत्खनन, उद्योग स्थापना आदि विषयमा सधैँ विवाद हुने गर्छ। अर्थात् विवाद नसुल्झाई कार्य प्रारम्भ गरिन्छ। कतिपय आयोजनाहरु विवादका कारण अघि बढ्न सक्दैनन्। विगतमा अरुण तेस्रो जलविद्युत्बाट विश्व बैंकले हात झिक्नु, जीएमआरले निर्माण गर्न लागिरहेको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजना निर्माणको विरोधमा आवाजहरु गुञ्जनु यसैका सबुत हुन्। तर चीनले १३ लाख मानिस विस्थापित गरी यांसी नदीमा २२ हजार ५ सय मेगावाट क्षमताको थ्रिगर्जेज आयोजना निर्माण गरेको छ। ठूला र रणनीतिक महत्वका आयोजना निर्माणमा यांसी नदीको बस्ती विस्थापन चीनबाट सिक्नुपर्ने नवौं पाठ हो। यदि हामीले चीनमा भएका विकासलाई अनुशरण गर्ने प्रयास गर्यौं भने नेपालले पनि विकासमा फट्को मार्नेछ।

प्रतिक्रिया दिनुहोस्