मतपेटिका ल्याउन मौसमले साथ दिएन



रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङको उत्तरी क्षेत्रका निकै विकट र दुर्गम भेगका मतदान केन्द्रका मतपेटिका सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याएको छ।
फक्तांलुङ गाउँपालिका–७ मा रहेको ग्याब्ला प्राविको केन्द्र र याङ्मा आधारभूत विद्यालयको मतपेटिका हेलिकोप्टरले ल्याएको हो। ४९ मतदाता रहेको ग्याब्लामा २५ मत खसेको थियो भने ५७ मतदाता रहेको याङ्मामा १६ मत खसेको थियो। ग्याब्ला, याङ्मा, ओलाङ्चुङगोला र घुन्साको मतपेटिका एकै चरणमा हेलिकोप्टरबाट ल्याउने प्रयास गरिए पनि मौसमले साथ नदिँदा सम्भव नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

ओलाङ्चुङगोला र घुन्साको मौसम बदलिएर हेलिकोप्टर बस्न नसक्दा २ स्थानका मात्रै मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो। हेलिकोप्टर ताप्लेजुङस्थित नेपाली सेनाकै गुल्ममा राखिएकाले मौसममा सुधार हुनासाथ ती २ स्थानका मतपेटिका सदरमुकाम ल्याइने उहाँले बताउनुभयो।

आइतबारको निर्वाचनमा १ सय ३१ मतदाता रहेको घुन्सामा ५९ र २ सय २२ मतदाता रहेको ओलाङ्चुङगोलामा ९४ मत खसेको थियो। चारै स्थानमा जम्मा ४ सय ५९ मतदाता रहेकोमा १ सय ९४ मात्रै मत खसेको थियो। हिँडेर सदरमुकाम आउन कम्तीमा ४ दिन लाग्ने भएकाले खसेको १ सय ९४ मत सदरमुकाम ल्याउन लाखौ खर्चिएर हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्था छ।

कुल १ सय १४ केन्द्रमध्ये ४ केन्द्रका बाहेक १ सय १० केन्द्रका मतपेटिका भने स्थल मार्गबाट सदरमुकाम आइरहेको मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार हेलिकोप्टरबाट ल्याइएका २ केन्द्रसहित ३८ केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन्।

प्रतिक्रिया दिनुहोस्