राई माथिको आक्रमण सिंगो एमाले माथिको आक्रमणः अध्यक्ष ओली

0
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् । ओलीले विज्ञप्ति मार्फत भनेका छन, ‘हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री शेरधन राईमाथि आज बिहान भएको सांघातिक आक्रमणलाई हाम्रो पार्टीले गम्भीरतापुवर्क लिएको छ । निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं,’ अध्यक्ष ओलीले अगाडी भनेका छन, ‘यस घटनामा संलग्न जोसुकै भएपनि उनीहरुको उदेश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँडने र मुलुकमा भाँडभैलो मच्चाइ रहने स्पष्ट हुन्छ । हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरुलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता सांघातिक आक्रमणहरु नियन्त्रण गर्न सचेत गराउँछौं ।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाएका छन् । उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताएका छन । उनले यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग समेत गरेका छन् ।