कम्युनिस्ट शासन भएमा अन्याय र डरत्रासले मात्रै बाँच्नुपर्छः प्रम



रविन भट्टराई, ताप्लेजुङ
प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट शासन आयो भने डर र त्रासको मात्र शासन हुने बताउनुभएको छ। नेपाली कांग्रेस ताप्लेजुङले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न शनिबार ताप्लेजुङ आउनुभएका प्रधानमन्त्री देउवाले कम्युनिस्ट नेताहरूले भनेजस्तो शासन हालसम्मका आन्दोलन र क्रान्तिहरूका माध्यमबाट प्राप्त सबै नागरिक हकअधिकारसमेत गुम्ने बताउनुभयो।

नेपालमा माओवादी केन्द्र र एमालेबीच वाम गठबन्धन गरी कम्युनिस्ट शासन ल्याउन खोजेको भन्दै उहाँले त्यस्तो शासनमा बहुदल लेख्न नपाइने, अन्याय भयो भन्न नपाइने भएकाले जनताको शासनको अन्त्य हुने दाबीसमेत गर्नुभयो।

सबैले भने जस्तो र लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस मात्र रहेको बताउँदै कांग्रेस पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कांग्रेसको विजय भए लोकतन्त्रको रक्षा हुने उद्घोष गर्नुभयो।

कम्युनिस्ट पार्टीप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने बताउँदै बोल्नलेख्न पाउने र डरत्रासको शासनबिनाको शासन मात्र कांग्रेसको लक्ष्य भएको बताउनुभयो।

अधिकांस समय वाम एकताको विरोधमा खर्चिएका देउवाले मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ कम्युनिस्टहरूलाई पराजित गर्नुपर्नेसमेत उद्घोष गर्नुभयो।

मंसिर १० र २१ गतेको निर्वाचन कम्युनिस्ट र लोकतन्त्र पक्षधरबीचको जनमत संग्रहजस्तै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसबाहेक अर्को कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको आरोपसमेत लगाउनुभयो।
प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनको चर्चा गर्दै नेपाली कांग्रेसको नेतृत्वमा संविधानसभाबाट जारी भएको वर्तमान संविधान कार्यान्वयनको जिम्मा लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक दलले मात्र गर्न सक्ने र कम्युनिस्टहरूले संविधानको प्रस्तावनादेखि भावना प्रतिकूलका अभिव्यक्ति दिएकाले उनीहरूको बल पुगेमा जनताका अधिकार सुरक्षित भएको संविधानमाथि पहिलो प्रहार हुने पनि बताउनुभयो।

उहाँले लोकतन्त्रमा मात्र नागरिकका अधिकारहरू सुरक्षित हुने उल्लेख गर्दै कम्युनिस्ट शासनमा सबै अधिकार गुम्ने र त्रासको वातावरण कायम हुने चर्चा गर्दै लोकतन्त्रमा मात्र भयमुक्त वातावरण रहिरहने बताउनुभयो।
कार्यक्रममा देउवासँगै पुग्नुभएका कांग्रेस प्रचार विभागका प्रमुख बालकृष्ण खाँणले केपी ओली र सीके राउत उस्तै भएको आरोप लगाउनुभयो। ‘एउटाले तराईमा विखण्डन ल्याइरहेको छ, अर्कोले देशमै विखण्डन ल्याइरहेको छ त्यसैले ओली र राउत एउटै रथका दुई पाटा हुन्’ –खाँणले भन्नुभयो।

उहाँले पनि देवाउले जस्तै कम्युनिस्टहरूलाई लोकतान्त्रिक विरोधी भएको आरोप लगाउनुभएको थियो। नेपाली सेनाको हेलिकोप्टरबाट ताप्लेजुङ पुग्नुभएका देउवाले ताप्लेजुङमा भएको चुनावी आमसभालाई सम्बोधन गर्नुअघि पाथिभरा देवीको दर्शनसमेत गर्नुभएको थियो। ताप्लेजुङको आमसभापछि प्रम देउवासहितको टोली पाँचथरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रस्थान गरेको छ।

प्रतिक्रिया दिनुहोस्