‘कांग्रेसकै भोटले प्रचण्डलार्इ हराउँछु’



चितवन । वनमन्त्री तथ राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ का कांग्रेसको भोटले जित निकाल्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । कांग्रेसको समर्थनमा चितवन ३ मा निर्वाचन लड्न लागेका पाण्डेले कांग्रेस नेता कार्यकर्ताको सल्लाह र समर्थनमा चितवन ३ मा उम्मेद्वारी दिएको बताउँदै जित निश्चित भएको दावी गरे ।

पाण्डेले केही एमाले, माओवादीले र सबै कांग्रेसले आफुलाई भोट हाल्नेमा ढुक्क रहेको समेत दाबी गरे । जनताको काम र विकास निर्माणले चितवन क्षेत्र नम्वर ३ मा आफ्नो जित्ने आधार रहेको मन्त्री पाण्डेले बताए । त्यस क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेकाले पनि फेरि आफ्नो जित आवश्यक रहेको पाण्डेको भनाई छ ।

प्रचण्डसँग तपाइको प्रतिस्पर्धा हो ? भन्ने प्रश्नमा मन्त्री माण्डेले भने, ‘उहाँमात्रै नभएर धेरै उम्मेद्वार बन्न सक्छन् । मैले पनि देशको नेतृत्व गर्छु भनेर नै त्यस क्षेत्रमा चुनाव लड्न लागेको छु ।’

माडीको बाँदरझुला बस्ती स्थानान्तरणका लागि आफु भूमिसुधार मन्त्री हुँदा प्रक्रिया सकेर सबैलाई जग्गा समेत उपलव्ध गराएको पाण्डेले बताए । मन्त्री पाण्डेले आफुले बोलेको सबै कुरा पुरा गर्दै आएको भन्दै चितवन निकुन्ज प्रवेश निशुल्क चाँडै गर्ने बताए । निकुन्जको बाटो फराकिलो पार्ने काम सुरु भइसकेको उनको भनाई छ । मन्त्री पाण्डेले राप्ती पुलदेखि ठोरीसम्मको सडक विस्तार आफ्नै पहलमा भइरहेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्