आन्दोलनका कार्यक्रम फिर्ता, ८ बुँदे सहमति, डीएसपी सिलवाल जिल्ला तानिए, कफ्र्यु हटाउने तयारी



 

नेपाल समाचारपत्र
भद्रपुर
बालक लक्ष्मण सिवाकोटीको हत्याको विषयलाई लिएर झापाको बिर्तामोडमा शुक्रबार भएको झडपपश्चात्का सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

झापा प्रशासन र पीडितपक्षबीच भएको ८ बुँदे सहमतिपश्चात् आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो। आन्दोलनको कार्यक्रम फिर्ता भए पनि बिर्तामोडमा शुक्रबार साढे १ बजेदेखि झापा प्रशासनले लगाएको कफ्र्यु यथावत राखिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए। अवस्थालाइ हेरेर हटाउने उनको भनाइ छ।

शनिबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा बसेको सर्वपक्षीय बैठकले ८ बुँदे सहमति गरेको छ। सहमतिअनुसार बिर्तामोडमा भएको घटनाको विषयलाई लिएर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवाललाई छानबिन गरी प्रहरी नियमावलीबमोजिम कारबाही गर्न सिफारिस गर्ने, बालक हत्याकाण्डका सम्बन्धमा सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सूक्ष्म रूपमा थप अनुसन्धान शुरू गर्ने भएको छ। त्यस्तै सो सम्बन्धमा संघर्ष समितिकी संयोजक सीता पाण्डे, सदस्य धुव्रप्रसाद सिवाकोटी, मृतकका काका बिष्णु सिवाकोटी र मामा हेम पौडेलको सहयोगमा अनुसन्धान अघि बढाउने, असोज १४ र कात्तिक १० गते भएको घटनाका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाहीका लागि गृह मन्त्रालायबाट गठित छानबिन समितिलाई सबै पक्षले सहयोग गर्ने उल्लेख छ। त्यसै गरी मृतक नरेश थापाका परिवारलाई १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयमा अनुरोध गर्नुका साथै मृतक परिवारलाई तत्काल बिर्तामोड नगरपालिका र जिल्ला समन्वय समिति झापाले २५–२५ हजार र बिर्तामोड उद्योग वाणिज्य संघले १० हजार उपलब्ध गराउने र मृतककी श्रीमतीलाई नगरपालिकामा रोजगारी दिने सहमति भएको छ।

त्यस्तै घाइते सबैलाई निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने, बालक हत्याकाण्डको सम्पूर्ण कार्यक्रम फिर्ता गरी असामान्य अवस्थालाई सामान्यीकरण गर्न सबै पक्षले सहयोग गर्ने र बिर्तामोडमा भएको घटनामा सरकारी कार्यालय र निजी सवारीसाधन तोडफोड गरेको सम्पत्तिको क्षति यकिन गरी क्षतिपूर्तिका लागि सरकारसमक्ष सिफारिस गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए। हाल डीएसपी सिलवाल प्रहरी कार्यालय झापा तानिएका छन्।

प्रतिक्रिया दिनुहोस्