पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको चित्तपोलमा बनमारा झाडीबाट चारकोल बनाउने प्रविधीको शुरुवात भएको छ । जंगलमा काम नलाग्ने र रुख बिरुवालाई समेत असर गर्ने खालका तितेपाती, उन्यू, काले झार, रुखका स–साना हाँगाबिँगा, पातपतिङ्गरजस्ता फोहोर वायोमासबाट चारकोल बनाउने प्रविधीको शुरुवात भएको हो ।
हिमालयन नेचुरल्स नामक संस्थाले ऊर्जाको मुख्य स्रोतका रुपमा त्यतिकै खेर जाने पैदावारलाई उपयोग गरी औद्योगिक खपत बढाउन चारकोल उत्पादन शुरु गरेको जनाएको छ । जंगललाई कुरुप बनाउने बनमारा, उन्यु, कालेझारलाई विशेष प्रविधि रिट्रोटभित्र ४ र ५ घण्टासम्म नियन्त्रित तापक्रममा तताई त्यसमा भएको पानीको भाग र अन्य हानिकारक ग्यास बाहिर निकाली बल्ने क्षमता भएको पदार्थ मात्र बाँकी रहेको कोइलालाई चारकोलको रुपमा प्रयोगमा ल्याउन सकिने हिमालयन नेचुरल्सका प्रबन्ध निर्देशक शुसिल ज्ञवालीले जानकारी दिनुभयो ।
नेपालमा १८ हजारभन्दा बढी सामुदायिक वन रहेको र त्यस्ता सामुदायिक वनको झाडी सफाइ गर्न वर्षेनी लाखौं रुपैयाँ खर्च हुने गरेकामा त्यसलाई प्रयोग गरेर चारकोल निर्माण गर्न सके राज्य र नागरिकले रोजगारी प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुको साथै वातावरण प्रदूषण न्यूनीकरणमा योगदान पुग्ने, जङ्गलको अवस्थामा सुधार आउने र वन जङ्गलमा आगलागी नियन्त्रणमा टेवा पुग्ने भएकाले राज्यले यस्ता प्रविधीलाई प्रोत्साहन गर्नुपर्ने संस्थाका सञ्चालक गोपाल शर्माले जानकारी दिनुभयो । चारकोलको प्रयोग बढाउन सकिएमा कोइला आयातमा वार्षिक १२ अर्बभन्दा बढी रकम विदेसिनबाट रोक्न सकिने उहाँले बताउनुभयो ।
नेपालमा वनपैदावार, शहरबजार एवम् घरायसी र औद्योगिक प्रतिष्ठानबाट निस्कने जैविक फोहरबाट चारकोल, ब्रिकेट निर्माण गरी कोइला र इन्धनको खपतलाई न्यून गर्न सकिने प्रशस्त सम्भावना रहेको ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चारकोल कोइलाभन्दा निकै सफा इन्धनको स्रोत भएकाले यसको प्रयोगले घरभित्रको प्रदूषण पनि कम हुन्छ । चारकोलले खेतबारीमा फस्फोरस व्याक्टेरियाको संरक्षण गर्छ र पानीमा चिसोपना कायम राख्न पनि यो उपयोगी हुन्छ ।’
उहाँले चारकोल धुवाँरहित र गन्धरहित हुने भएकाले प्रयोगकर्ताको स्वास्थ्यमा श्वासप्रश्वाससम्बन्धी समस्या नहुने र दाउरा, ग्यासभन्दा निकै सस्तो पर्ने जानकारी दिनुभयो । चारकोल हलुका र हेर्दा कोइला जस्तै देखिने भएपनि यसमा साधारण कोइलामा भन्दा बढी ताप दिने शक्ति हुन्छ ।भक्तपुरमा यो प्रबिधिको सुरुवात गर्न करिब एक कराड खर्च भएको संस्थाले जनाएको छ ।दिगो, सुलभ, सुरक्षित एवं वातावरणमैत्री प्राकृितक उत्पादनहरुको आपुर्ती गरेर अग्रणी सामाजीक उद्यम बन्ने संस्थाले लक्ष्य लिएको बताउँदै सम्र्पूण मुल्य श्रृंखलामा संलग्न भएर समुदायले नै गुणस्तरीय उत्पादन गर्नसक्ने व्यवस्था गरी त्यस्ता उत्पादनहरुको बजार विकास गर्ने उहाँले बताउनुभयो ।
ब्रिकेटको सिमीत बजारको चुनौतीलाई चिर्न तन्दुरी, सेकुवा लगायत साना उद्यमहरु जस्तै डेरी, जुजु धौ, चाउमीन, पोल्ट्री फर्म लगायतमा इन्धनको रुपमा प्रर्तिस्पर्धि मुल्यमा जानको लागी मेशीनबाट सस्तोमा प्यालेट उत्पादन शुरु गरेको हो ।
प्रतिक्रिया