रिसाइकल सेन्टरमा चोरिएको क्षेप्यास्त्र विस्फोट


 

मस्को, (एजेन्सी)
पूर्वी रुसस्थित एउटा रिसाइकल सेन्टरमा भएको एक विस्फोटमा दुई जनाको ज्यान गएको र अर्का एक घाइते भएका छन्। उक्त विस्फोट चोरी भएको क्षेप्यास्त्र भएको बताइएको छ।

युट्युबमा गाडीको ड्यासक्यामरामा रिकर्ड भएको उक्त विस्फोटको भिडियो अपलोड भएपछि रुसी सञ्चारमाध्यम सजक भएको जनाइएको छ। १० मिटर लामो सोभियतकालीन उक्त विमानभेदी क्षेप्यास्त्र एस–२०० भएको र नेटो देशमा एसए–५ गेमनको नामले चिनिएको जनाइएको छ।

यो क्षेप्यास्त्र सन् १९६० को दशकमा सैनिक प्रयोजनमा ल्याइएको र अहिले यसको स्थानमा एस–३०० र एस–४०० स्थलबाट आकाशमा प्रहार गर्ने मोडेल ल्याइएको छ। उक्त क्षेप्यास्त्र रिसाइकल सेन्टरसम्म कसरी पुग्यो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। सात टनको उक्त क्षेप्यास्त्र सैनिक अड्डाबाट चोरिएको स्थानीय न्युज वेबसाइट बाई–२४ डट ओआरजीले जनाएको छ। क्षेप्यास्त्र चोरी गर्नेहरूको पहिचान हुन सकेको छैन। क्षेप्यास्त्र बेचेर पैसा कमाउने उद्देश्यले चोरी भएको बताइएको छ। कामदारहरूले क्षेप्यास्त्र खोल्ने प्रयास गरिरहेको बेला विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ।

आपतकालीन रिस्पोन्स टोलीले जाँच थालेपछि एस–२०० क्षेप्यास्त्र प्रणालीको अर्को एउटा रकेट बरामद गरिएको न्युज वेबसाइट द इनसाइदरले जनाएको छ। सामाजिक सञ्जालहरूमा उक्त क्षेप्यास्त्र रिसाइकल सेन्टरसम्म कसरी पुग्यो भन्ने विषयमा व्यापक बहस भइरहेको छ।