केन्या राष्ट्रपति चुनाव, सर्वोच्च अदालतद्वारा चुनावी नतिजा रद्ध गरेको फैसला


 

नैरोबी, (एजेन्सी)
केन्याको सर्वोच्च अदालतले गत महिना सम्पन्न राष्ट्रपति चुनावको नतिजा रद्ध गरेको छ। अदालतले ६० दिनभित्र पुनः चुनाव गराउन आदेश दिएको छ।
अदालतले चुनावमा अनियमितता भएको पाइएको जनाएको छ। फैसलाप्रति असन्तुष्ट राष्ट्रपति उहरु केन्याटाले न्यायाधीशहरूलाई ‘बदमास’ भएको तर आफूले अदालतको फैसलाको सम्मान गर्ने बताए।

केन्याटाका विरोधी र विपक्षी नेता राएला आडिंगाले चुनाव आयोगको कडा आलोचना गरेका छन्। उनले आयोगका अधिकारीहरूको राजीनामा र उनीहरूका लागि सजाय तोक्न माग गरे।
अफ्रिकामा चुनावको परिणाम पहिला पनि रद्ध गरिएको भए पनि कुनै विपक्षी पार्टीले राष्ट्रपति चुनावविरुद्ध अदालतको ढोका ढकढकाउन गएको र उसलाई त्यसमा सफलता प्राप्त भएको पहिलो घटना हो। प्रधानन्यायाधीश डेविड मारागले अगस्ट ८ मा भएको चुनाव संविधानअनुरूप नभएको र त्यसको परिणाम पनि अमान्य भएको फैसला दिए। उनले सर्वोच्च अदालतका ६ जना न्यायाधीशमध्ये ४ जना यो फैसलाको पक्षमा रहेको बताए।

अदालतभित्र र बाहिर जमा भएका विपक्ष समर्थकहरूमा यो फैसलाले खुसीयाली छाएको थियो। अदालतले आफ्नो आदशमा राष्ट्रपति केन्याटाको पार्टी वा उनको पार्टीको चुनावी अभियानलाई लिएर कुनै आरोप लगाएको छैन। न्यायाधीश मारागाले चुनाव आयोगले संविधानको प्रावधानअनुरूप चुनाव गराउनुपर्नेमा आयोग असफल भएको निर्णय दिए। उनले भने– ‘नतिजाको प्रसारणमा पनि कयौं अनियमितत भएका छन्।’ अदालतले पूरा फैसलामा यसका बारेमा विस्तृत बताउने र यो २१ दिनभित्र जारी गर्ने उनले जानकारी दिए।

न्यायाधीशहरूले विपक्षी दलहरूको गठबन्धन पनि चुनावमा धाँधली भएको भन्ने आफ्ना आरोप प्रमाणित गर्न असफल रहेको फैसलामा उल्लेख गरका छन्।
चुनावका क्रममा कयौं स्थानमा हिंस्रक विरोध प्रदर्शन भएका थिए। जसमा २८ नागरिकको ज्यान गएको थियो। सन् २००७ मा जस्तै यसपटकको चुनावमा पनि राजनितिक हिंसाको आशंका गरिएको थियो।

‘फैसलाको यो दिन केन्या र यहाँका नागरिकका लागि ऐतिहासिक दिन हो’, ७२ वर्षीय विपक्षी नेता राएला ओडिंगाले भने– ‘यो प्रस्ट छ, चुनावको सही नतिजा कहिले पनि केन्याली जनतालाई बताएकै छैन। कसैले त यसको जिम्मेवारी लिनै पर्छ।’

टेलिभिजन प्रसारित एक सन्देशमा राष्ट्रपति केन्याटाले भने– ‘तपाईं सर्वोच्च अदालतको फैसलासँग असहमत होला तर तपाईंले कानुनको शासन मान्नुपर्छ, यो आवश्यक हो।’

उनले जस्तो भए पनि छिमेकी सधैं छिमेकी नै रहने उदाहरण दिँदै केन्याली जनतालाई शान्ति बनाइराख्न र शान्तिदूत बन्नका लागि आ≈वान गरे। केन्याटाले भने– ‘हामीले जनताका लागि जे काम गरेका छौं त्यसैलाई एजेन्डा बनाएर पुन जनतासामु जान तयार छौं।’

अदालतको फैसलापछि नैरोबीमा भएको एक र्यालीलाई सम्बोधित गर्दै उनले भने– ‘न्यायाधश मारागा र उनका साथी बदमास हुन्। उनीहरूले चुनाव नै रद्ध गर्ने फैसला गरे।’

उनले न्यायाधशहरूलाई चेनावनीको भाषा प्रयोग गर्दै उनीहरूले कुर्सीमा बसेका राष्ट्रपतिसँग जोरी खाजिरहेको बुझ्नुपर्ने बताए। उनीहरूमाथि निगरानी राखिरहेको तर चुनाव पहिला सकिनुपर्ने बताउँदै आफू कसैसँग नडराउने राष्ट्रपतिले बताए।

चुनाव आयोगका अध्यक्ष वकुफा चेकुकाटीले अदालतको आदेशको पालना हुने र नयाँ चुनाव अगाडि आयोगका अधिकारी पनि परिवर्तन गर्ने बताए। यद्यपि उनले आयोगबाट राजीनामा दिने सम्भावनालाई अस्वीकार गरे। फैसलामा आफूहरूमाथि कुनै प्रकारको आरोप नलगाएको उनले बताए।