अमेरिकीलाई उत्तर कोरिया जानबाट रोक


 

वासिङ्टन, (एजेन्सी)
उत्तर कोरियातर्फ जाने आफ्ना नागरिकहरूलाई अमेरिकाले रोक लगाएको छ। उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण तनाबले उग्र रुप लिइरहेका बेला उत्तर कोरिया भ्रमणमाथि प्रतिबन्ध लगाइएको हो। उत्तर कोरियाको कारागारबाट मुक्त गरिएका अमेरिकी विद्यार्थी ओटो वार्मवियरको मृत्यु भएपछि अमेरिकाले यो नयाँ नियम बनाएको हो।

अमेरिकी विदेश विभागले अमेरिकी नागरिकहरूलाई उत्तर कोरियामा हिरासतमा लिइने खतरा बढेकाले यो प्रतिबन्ध जारी गरिएको बताइएको छ। यो नियम उल्लंघन गरी उत्तरकोरिया जाने जुनसुकै अमेरिकी नागरिकले आपराधिक सजाय भोग्नुपर्ने र तिनीहरूको पासपोर्ट पनि जफत गरिने बताइएको छ।
अमेरिकी विदेश विभागले पत्रकारिता वा मानवीय सहयोग कार्यजस्ता केही सीमित विषयमा बाहेक अमेरिकी जनतालाई उत्तर कोरिया जाने अनुमति नदिने भएको छ।

टुर अपरेटरहरूले वर्षेनि करिब एक हजार अमेरिकीले उत्तर कोरिया भ्रमण गर्ने गरेको बताएका छन्। सो संख्या उत्तर कोरिया पुग्ने पश्चिमी पर्यटकको २० प्रतिशत हुन आउँछ। उत्तरकोरियामा अधिकांश पर्यटक चिनियाँ हुने गरेका छन्। बिहीबार टुर अपरेटरहरूले अमेरिकीको अन्तिम समूहलाई प्योङयाङबाट अमेकिरकातर्फ उडाएका छन्।

कार्यो टुर्सका जनरल म्यानेजर सिमाने ककरेलले बीबीसीको न्युज डे प्रोग्रामलाई अबदेखि आफूले थोरै ग्राहक भेट्ने अनुमान गरेको बताएका छन्। बिदामा घुम्ने आएका बेला उत्तर कोरियाको एउटा होटेलबाट प्रोपोगान्डा प्रतीक लिने प्रयास गरेको आरोपमा सन् २०१६ मा प्योङयाङमा गिरफ्तार गरिएका ओटो वार्मवियरलाई कारागारमा थुनिएको थियो।

गत जुनमा मात्र उनलाई अचेत अवस्थामा उनका अभिभावकसमक्ष सुपुर्दगी गरिएको थियो। उनको अचेत अवस्थामा नै अमेरिकामा मृत्यु भएको थियो। उनको मृत्युको कारण अझैसम्म स्पष्ट हुन सकेको छैन। विदेश विभागले विगत एक दशकभित्र कम्तीमा १६ जना अमेरिकीलाई उत्तर कोरियामा हिरासतमा लिइएको जनाएको छ। तीमध्ये तीनजना अझै हिरासतमै रहेको अनुमान गरिएको छ।
यसरी हिरासतमा लिइनेहरूमा अधिकांश अमेरिकी इसाई धर्म प्रचारक, पत्रकार र प्राध्यापकहरू रहेका छन्। विगतमा अमेरिकाले उत्तर कोरियालाई आफ्नो विवादास्पद आणविक कार्यक्रमबारे वार्ताका लागि सर्त राख्ने उद्देश्यले आफ्ना नागरिकहरूलाई हिरासतमा लिने गरिएको आरोप लगाउने गरेको थियो।