उत्तर कोरियाली सेनालाई मकै चोरेर खाने निर्देशन


 

सोल, (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले विश्वसमक्ष आफ्नो सैनिक शक्ति र अत्याधुनिक हातहतियार प्रविधि प्रदर्शन गरिरहेका बेला त्यहाँका कुपोषणग्रस्त सेना भने आफ्नो भोक मेटाउन खेतबाट मकै चोर्न बाध्य भएको खबर बाहिर आएको छ।

दि डेली नर्थ कोरियाले सैनिक अधिकारीहरले सम्भावित युद्धका लागि बलियो बनिरहन आफ्ना फौजलाई थप खानाको स्रोत जुटाउन स्थानीय खेतहरूमा गई मकै कब्जा गर्न आदेश दिएको जनाएको छ।

उत्तरी हाम्गयोङ प्रान्तको एक सूत्रले उच्चपदस्थ सैनिक अधिकारीहरूले कुनै पनि हालतमा युद्ध भइछोड्ने स्थिति रहेकाले तालिमपछि निकै थाकेका सेनालाई मकैबारीमा छिरेर मकै खान निर्देशन दिने गरेको न्युज वेब साइटलाई जानकारी दिएको छ। साथै सेनालाई मकै खाने अनुमति दिइँदा दिइँदै पनि नखाईकन कुपोषणग्रस्त रहेको खण्डमा आफैले दुःख पाउने चेतावनी पनि दिइने गरिएको बुझिएको छ। र्यांगगांग प्रान्तको अर्को सूत्रअनुसार सेनाले नपाकेकै मकैका बोराका बोरा बजारतर्फ बेच्न लाँदै गरेको देखिएको पनि दाबी गरिएको छ।

मंगलबार मात्र उत्तर कोरियाले जापानको आकाश मार्ग हुँदै क्षेप्यास्त्र परीक्षण गरेपछि युद्धको सम्भावना बढेको हो। सेनाको डरले आफ्ना खेतको मकैबारी कुर्ने उत्तर कोरियाली जनता भने किमको हतियार र सैनिक शक्ति प्रदर्शनबाट सन्तुष्ट नरहेको बताइएको छ। केही समयअघि किमले अमेरिकाको प्रशान्त क्षेत्रमा रहेको गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी पनि दिएका थिए।