‘एमाले राष्ट्रवादी पार्टी’

0
Shares

हेटौंडा,(नेस) । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले राष्ट्रवादी पार्टी भएका कारण स्थानीय चुनावमा धेरै स्थानमा विजयी भएको दाबी गरेका छन् । एमालेलाई संघीयता तथा मधेसविरोधी भनेर प्रचार गरिए पनि यथार्थमा एमाले जनताको पार्टी भएको उनले बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बनविज्ञान अध्ययन संस्थान हेटौंडाले बुधबार गरेको स्वागत तथा सम्मान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले एमालेको लोकप्रियता देखेर कांग्रेस र माओबादी आत्तिएको बताए । एमालेलाई हराउनकै लागि कांग्रेस माओबादी मिले पनि त्यो सम्भव नभएको उनको भनाइ छ । असोज २ गते हुने स्थानीय तह तथा केन्द्रीय र प्रदेश निर्वाचनमा जनताले एमालेलाई नै भोट दिएर केन्द्रीय तथा प्रदेशको नेतृत्व प्रदान गर्ने दाबी उनले गरे । जनकपुरमा मधेसी जनताले आफूलगायत आफ्नो पार्टीलाई राजपाका कार्यकर्ताले लखेटेको भनेर भ्रम छर्ने कार्य भएको भन्दै नेपालले दुःख ब्यक्त गरे ।  सयौंको संख्यामा भएको एमालेको कार्यक्रममा १० जना जतिको संख्यामा आएका राजपाका कार्यकर्ताले केही गर्न नसकेको उनले प्रष्ट पारे । कार्यक्रममा १० जना जति राजपाका ‘विशाल’ कार्यकर्ता आएर एमालेलाई लखेटेको भन्दै उनले ब्यङ्ग्य गरे ।

विरोध कार्यमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ता संलग्न रहेको पाइएपछि स्वतन्त्ररुपमा निर्वाचन प्रचारप्रसार गर्न पाउने अधिकार सम्मान गर्न र आइन्दा कुनै राजनीतिक दलविरुद्ध लक्षित विरोधका कार्यक्रम नगर्न निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टीलाई सचेत गराएको छ ।

उता, पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएर प्रचारप्रसारमा संलग्न भएको जानकारी पेश भएपछि स्पष्टीकरण दिन निर्वाचन आयोगले नेता नेपाललाई निर्देशन दिएको थियो ।

आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा बीरगञ्जमा सोमबार घरदैलो कार्यक्रममा नेता नेपालसहित नेता तथा कार्यकर्ताले पार्टीको निर्वाचन चिह्न अंकित टोपी लगाएको पाइएकाले आयोगको बैठकले यस्तो निर्णय गरेको थियो ।

आयोगले निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव चिह्न अंकित टोपी लगाएर चुनावी प्रचारप्रसारमा संलग्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता नेपाल तथा नेकपा एमालेलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेउपर कारबाही किन नगर्ने भन्नेसम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।