सुदूरमा ट्राफिक चिह्न हराउँदा चालकलाई समस्या

0
Shares

विमल विष्ट, डोटी ।
सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्गहरुका बिभिन्न स्थानमा ट्राफिक चिह्न नहुँदा सवारी चालकलाई समस्या हुने गरेको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक चिह्न हराउने तथा फालिएका कारण सवारी चलाउँदा दुर्घटनाको जोखिम पनि बढेको चालहकहरु बताउछन् ।

यहाँका पहाडी जिल्लाहरु बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटी जिल्लाका राजमार्गमा राखिएका ट्राफिक चिह्न हराउदै गएको सुदूरपश्चिम बसब्यबसायी समितिका बस चालक खगेन्द्र ओझाले बताउनु भयो । उहाँले भन्नु भयो ‘राजमार्गका ट्राफिक चिह्न हराउदै गएका छन्,नयाँ राखिएका छैनन्,नयाँ चालकले यो राजमार्गमा गाडी चलाउन खोजे ठोकिहाल्छ ,सवारी चलाउन निकै अप्ठोरो हुने गरेको छ ।’

अत्तरीया स्याउले जोड्ने भीमदत्त राजमार्ग,डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग, स्याउले दिपायल जोड्ने डाक्टर केआई सिंह राजमार्ग,बैतडी बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तथा दिपायल साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएको तथा कतिपय हराई सकेकाले सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटना बढ्ने सम्भावना समेत रहेको गाडी चालकहरु बताउछन् ।

ट्राफिक चिह्न नहुँदा सबै भन्दा बढी लामो दूरीका गाडी चालकलाई समस्या हुने गरेको बताईएको छ । ट्राफिक चिह्नले अगाडि आउने बाटोको अवस्थाबारे जानकारी दिने भएका कारण गाडी सञ्चालनमा सहजता हुने भएपनि ती चिह्न नै नहुँदा समस्या हुने गरेको शैलेस्वरी यातायात समितिका हाईस चालक खेम पातलीले बताउनु भयो । उहाँले भन्नु भयो ‘बाटोको अवस्था बारे जानकारी दिने संकेत नै छैनन्,नयाँ चालकले कसरी चलाउनु गाडी,दुर्घटना बढ्नुमा ट्राफिक चिह्न नहुँनाले पनि हो ।’

केही मात्रामा ट्राफिक चिह्न राजमार्गमा भएपनि तिनीहरु जीर्ण भइसकेको तथा टुटफुटको अवस्थामा रहेकाले गाडी चलाउन अप्ठेरो हुने गरेको चालकहरु बताउछन् । ट्राफिक चिन्ह मर्मत तथा जिर्णाेद्धारका लागि छुट्टै बजेटको व्यवस्था नगरिएकोले अहिले समस्या आएको भएपनि जिर्ण ट्राफिक चिन्हलाई तत्कालै मर्मत गरिने क्षेत्रीय सडक कार्यालय सिलगढी डोटीले जनाएको छ ।