पर्वत प्रहरीले ६१ जना फरार ‘अपराधी’ पक्र्यो, ज्यान मुद्दामा २१ वर्षदेखि फरार विक पनि प्रहरीको फन्दामा



दुर्गाप्रसाद शर्मा, पर्वत ।
जल्ला प्रहरी कार्यालय पर्वतले अघिल्लो आर्थिक वर्षमा ६१ जना फरार अपराधी पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतले सजाय सुनाएका तर फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न प्रहरीले अभियान नै चलाएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार जिल्ला अदालत पर्वतले २०५२ साल जेठ ७ गते नकावजनी चोरीको अभियोगमा साविकको लेखफाँट २ का टेक बहादुर विकलाई २८ दिन कैद सजाय सुनाएको थियो । अदालतले गरेको सजायबाट जोगिन फरार रहेका विकलाई प्रहरी चौकी लेखफाँटले २१ वर्षपछि पक्राउ ग¥यो र अदालतमा बुझायो ।

त्यस्तै सम्बन्ध विच्छेद मुद्दामा २०६३ साल ७ महिना १२ गते अदालतले साविकको कटुवाचौपारी ९ का रामचन्द्र वि.क. लाई १ सय २५ रुपैयाँ जरिवाना लगाएको थियो । अदालतको सजायबाट बच्न फरार रहेका वि.क. १० वर्षपछि पक्राउ परेर र जरिवाना तिरे ।

 

जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालयको समन्वय पछि प्रहरीले धमाधम अपराधी पक्राउ गर्न सफल भएको हो । प्रहरीले अदालतको समन्वयमा अभियान नै चलाएपछि खुलेआम घुमिरहेका अपराधीहरु धमाधम पक्रिए । पर्वतको प्रहरी प्रमुखमा शेखर खनाल आएपछि सञ्चालन भएको अभियानले एक आर्थिक वर्षमा ६१ जना फरार अपराधीहरु पक्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मधुकरजंग विष्ट सहितको टोलीले सबै स्थानीय तहमा रहेका प्रहरी चौकी, ईलाका प्रहरी कार्यालयमा सम्बन्धित फरार अपराधीको विवरण पठाएर तत्काल पक्राउ गर्न निर्देशन दिएको थियो ।

प्रहरीको यो अभियानले दुई महिनाको अन्तरालमा कर्तव्य ज्यान मुद्दाका चारजना अपराधी पक्रिए । कर्तव्य ज्यान अभियोगमा अदालतले सजाय सुनाएका पैयुँ गाउँपालिका ४ हुवासका लिटिल भनिने यामसिंह थापालाई ईलाका प्रहरी कार्यालय पर्वतले गत साउन १४ गते पक्राउ गरेको थियो । त्यस्तै असोज महिनामा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका यामबहादुर चोचाङ्गी, दिपक तिवारी र टेकबहादुर जिसीलाई पक्राउ ग¥यो ।

आफूमाथि कैदको फैसला भएको भुलिसकेका समेत पक्राउमा परेका कार्यालय प्रमुख शेखर खनालले बताए । मुद्दा चल्दाचल्दै घरौटीमा छुटेर सम्पर्कमा नआएका, तारेख तोडेका, मुद्दा सहमतिमा मिलाएका मध्येबाट सो रकम असुल गर्न बाँकी रहेको उनले बताए ।
सबैभन्दा बढी पक्राउ भएका अभियुक्त सार्वजनिक अपराधका रहेका छन् । पक्राउ भएका कुल ६१ फरार अभियुक्तमध्ये ४० जना सार्वजनिक अपराधका रहेका छन् । त्यस्तै नकावजनी मुद्दाका २, ठगि १, सम्बन्ध विच्छेद ३, कर्तव्य ज्यान ४, लागुऔषध १, सवारी ज्यान १, अंश मासिक खर्च १, हातहतियार खरखजाना १, गौबध १, कुटपिट अंगभंग १, जुवा २ तथा रहजनी चोरी मुद्दाका १ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्