नगदेशमा महाकाली र लायकु दरबारमा भैरब नाच सुरु



पुष्कर बुढाथोकी, भक्तपुर ।
मध्यपुर थिमिको नगदेशमा प्राचिन महाकाली नाच सुरु भएको छ । नाचका संयोजक तुईलाल ज्यापुले गाईजात्राको भोलीपल्ट साँझबाट संचालन हुने महाकाली नाच चारदिनसम्म साँझ करिब ७ बजेबाट सुरु भएर चारघण्टासम्म चल्ने बताउनुभयो । युवापुस्ता रहेको नाचमा ८ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहने गरेको छ ।

यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ वटा कुखुरा, दुई वटा बोकाको बलिचढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु घजुले जानकारी दिनुभयो । आर्थिक अभावका कारण ७ बर्ष प्रदर्शनमा ल्याउन नसकेर विसं.२०६६ सालदेखि बन्द यो नाच स्थानीय युवाहरुको सक्रियतामा गतबर्ष देखि सुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो ।नाचको महत्वबारे जानकारी दिदै नाचका गुरु भक्तबहादुर घजुले आर्थिक अभावका कारण बन्द नाच स्थानीय युवाहरुको सक्रियतामा गतवर्षदेखि पुनः संचालनमा आएकाले अब बन्द नहुने बताउनुभयो ।

मल्लकालिन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब आठदेखि १० लाख रुपैया खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरेको र आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षय कोषको स्थापना गर्ने तयारी भएको महाकाली गण नाच व्यबस्थापन समितिका कृष्णलाल घजुले बताउनुभयो ।

महाकाली नाचमा महाकाली एक, महालक्ष्मी १, कौमारी १, सिंह १, बेता ४, भूत भैरव २, कवं २, ख्याक २, माकः (बाँदर) २, म्ह्यखा १ र मैसासुर दैत्य १ गरी १८ वटा देवगणको नाचमा सहभागिता रहेको हुन्छ । महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल्, अग्नि वायु, भूकम्प, चट्याङ्भय, चोरको भय नहुने जनविश्वास रहेको छ ।

नाचका नर्तकहरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित देखिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शनी हुनेछ ।

त्यसैगरि मध्यपुरथिमीमा आठ वर्ष अघि नै लोपभई २ वषर््ा अघिवाट स्थानीय युवाको पहलमा संचालन भएको प्रसिद्ध एवं ऐतिहासिक भैरब नाच पनि सुरु भएको छ । नाच संचालन एवं व्यबस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले मध्यपुर थिमी नगरपालिका वडा नं. १० तुलननी र कुमाननीका स्थानीयबासिन्दाहरुको पहलमा साँझ लायकु दरबारबाट भैरब नाच सुरु भएको बताउनुभयो ।

प्राचिनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दुख दिन थालेको त्यसको निराकरण गर्न प्राचिनकालमा लाय्कु भैलःको रुपमा भैरब नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ ।

२ भैरब, २ दाःगि (कुमारी) र १ ज्यापु गःचा गरी ५ जना देवगण रहने सो नाचका लागि यस पटक तुल्सीकृष्ण प्रजापति र विकास प्रजापति भैरब, विनोद प्रजापति र विशास प्रजापति दाःगि र आर.एन. प्रजापति ज्यापु गःचा भएर प्रसिद्ध भैरब नाच प्रर्दशन गर्ने भएको हनु् । उनीहरु एकमहिनादेखि प्रत्येक दिन साँझ नाच प्रर्दशनका लागि तयारी गरिरहेका थिए ।

 

गाईजात्राको भोलीपल्टबाट सुरु भएको यो नाच चाररातसम्म नचाईने जानकारी दिदै उहाँले नाच सञ्चालनका लागि खर्च हुने करिब ८ लाख रुपैया स्थानीयबाट संकलन गरिने बताउनुभयो । धा ंः बाजाको विभिन्न ३० देखि ३२ तालमा नचाउने यस नाच विभिन्न टोल तथा देवालयहरुमा दुईदेखि तीनतालसम्म मात्र नचाईने चलन छ भने नृत्यनाथ (नसःद्य)को प्रांगणमा भने नचाउन अनिवार्य छ । मन्त्रोचारण गरी नाच निकाली सकेपछि नाच समापन नभएसम्म देवता बनेर नाच्ने व्यक्तिले कसैको जुठो खान नहुने, शुद्ध भएर बस्नु पर्ने प्रवधान रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्