उत्तर कोरियामाथि जापानको नयाँ नाकाबन्दी


 

टोक्यो, (एजेन्सी)
जापानी विदेश मन्त्री फुमियो किसिदाले शुक्रवार जापानले उत्तर कोरियामाथि नयाँ नाकाबन्दी लागू गर्ने क्रममा दुईवटा चिनियाँ संस्थालगायत उत्तर कोरियासँग सम्बन्धित पाँचवटा संस्थाको सम्पत्ति रोक्का गरेको जानकारी दिएका छन्।

उत्तर कोरियामाथि अटेर गरी आणविक र क्षेप्यास्त्र परीक्षण गरिरहेको आरोपमा हिजै नयाँ नाकाबन्दी लगाउन अमेरिकाको सिनेटमा मतदान भएलगत्तै जापानले यो कदम उठाएको हो।

गुप्तचर अधिकारीहरूलाई हवाला दिँदै अमेरिकी सञ्चारमाध्यमले यसअघि सोचिएभन्दा अघि अर्थात् आगामी वर्ष नै प्योङयाङ आणविक हतियार बोक्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) विकास गर्न सफल हुने जनाएको थियो।

एकजना वरिष्ठ अमेरिकी अधिकारीले मंगलबार नै अमेरिकी नयाँ नाकाबन्दीको उद्देश्य चिनियाँ वित्तीय संस्थाहरूलाई समेत कारबाही गर्नु रहेको बताएका थिए। तर चिनियाँ विदेश मन्त्रालयले जापानको यस निर्णय अस्विकार्य र गलत रहेको भन्दै भत्सर्ना गरेको छ।
नियमित पत्रकार सम्मेलनको क्रममा विदेश मन्त्रालयका प्रवक्तता लु कांगले विशेष गरी चिनियाँ संस्था एवं व्यक्तिविशेषमाथि लक्षित गर्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को ढाँचाबाहिर रहेर गरिने यस्तो एकपक्षीय नाकाबन्दीको चीनले कडा विरोध गर्ने बताएका छन्।