‘श्रीमान्–श्रीमती’ एउटै पासोमा



 

काभ्रे, (नेस)
बनेपामा एकै परिवारका ४ जनाले आत्महत्या गरेको पाँच दिनपछि धुलिखेल–८ बडालगाउँमा एक दम्पतीले रूखमा पासो लगाएर आत्महत्या गरेका छन्।

आफैले लगाएको पाइन्ट र सल जोडेर पासो बनाई एउटै पासोमा धुलिखेल–८ घर भएका भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती मनिषा दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले बताउनुभयो। २८ वर्षका सोमप्रसादकी जेठी श्रीमती टीकादेवी बडाल स्थानीय बाल विनायक विद्यालयकी शिक्षिका हुन्।

एक छोरा र एक छोरीसमेत रहेको सोमप्रसादले केही दिनअघि मात्रै धुलिखेल नगरपालिका २ रविगाउँ घर भई बनेपाको एक सहकारीमा कार्यरत कक्षा १२ मा अध्ययनरत १९ वर्षीया मनिषासँग विवाह गरेका थिए। दुग्ध डेरीका चालकको रूपमा काम गर्ने सोमप्रसादकी जेठी श्रीमती टीकादेवीले प्रहरीकोमा मंगलबार मात्रै उजुरी दिएकी थिइन्।

कान्छी श्रीमती नलिई सोमप्रसाद जिल्ला प्रहरी कार्यालय काभ्रेमा पुगेका थिए। बुधबार टीकादेवी र सोमप्रसादबीच भएको सम्पत्ति आधा आधा गर्ने सहमतिपश्चात् प्रहरीले आइन्दा कुटपिट नगर्ने भन्दै मिलापत्र गरेर फर्काएको थियो।

बिहीबार दिउँसो सोमप्रसादले भएको केही जग्गा टीकादेवीलाई पास गरिदिने सहमतिअनुसार बुधबार दिउँसो घर गएको र राति १० बजे कान्छी श्रीमती मनिषा र सोमप्रसाद निस्किएका थिए। बिहीबार दिनभर आफन्तले उनीहरूको खोजी गरे तर फेला परेनन्। दिउँसो ४ बजेतिर घाँस लिन पाखोमा गएको अवस्थामा स्थानीयले सोमप्रसाद र मनिषालाई झुन्डिएको अवस्थामा फेला पारेका थिए।

बनेपा नगरपालिकाको बसपार्कमा हरिभक्त दाहाल, उनको श्रीमती हरिमाया दाहाल, छोरा राजाराम दाहाल, छोरी रञ्जना दाहालले सामूहिक आत्महत्या गरेको घटनामा प्रहरीले अनुसन्धान गरे पनि अहिलेसम्म केही निष्कर्ष निकाल्न सकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्