गरीबलाई परिचयपत्र बाँड्ने सरकारी निर्णय



 

नेपाल समाचारपत्र
काठमाडौं
सरकारले २५ जिल्लाका गरीब घरपरिवारलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरीब परिवारलाई परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।

भोजपुर, सिराह, खोटाङ, रौतहट, सिन्धुली, रामेछाप, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, अछाम र कैलाली जिल्लाका गरीब परिवारलाई परिचयपत्र वितरण गर्ने सरकारले जनाएको छ।

यसअघि सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतको गरीब घरपरिवार पहिचान सर्वेक्षण बोर्डले गरेको अध्ययनअनुसार २५ जिल्लामा ३ लाख ९१ हजार ८ सय ३१ परिवार गरीब छन्। उक्त सर्वेक्षणले सबैभन्दा धेरै गरीब बाजुरामा र सबैभन्दा धेरै धनी तनहुँमा रहेको प्रारम्भिक तथ्यांक निकालेको थियो।

मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि बनाइएको मापदण्डअनुसार परिचयपत्र वितरणको काम शुरू गर्ने बताउनुभयो। त्यसैगरी सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयको सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्