६८ औं हलो क्रान्ति दिवस आज

0
Shares

काठमाडौं, (नेस) । आज ६८ औं हलोक्रान्ति दिवस मनाइँदै छ । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि।सं।२००६ साल साउन ११ गतेका दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेका थिए ।

राणा सरकारको तानाशाहीसँगै मौलाएको ब्राह्मणबाद र जातीय भेदभाव अनि हलीप्रथा अन्त्यका सन्देश दिन हलो जोतेर सामाजिक चेतनाको शुरुवात गरिएको थियो । पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले पहिलो पटक हलो जोतेका हुन् ।

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न शुरु गरिएको थियो । यसैको सम्झनामा वर्षेनी लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ ।

दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । त्यतिबेला हलो जोत्ने सबैको निधन भइसकेको छ ।