कीर्तिपुर नपाको बजेट साढे ७९ करोड

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
कीर्तिपुर नगरपालिकाको पहिलो नगरपरिषद्ले चालू आर्थिक वर्षका लागि ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजित गरेको छ। पहिलो नगरसभाबाट पारित निर्णयको आइतबार सार्वजनिक गर्दै नगरपालिका प्रमुख रमेश महर्जनले सो कुराको जानकारी दिनुभएको हो। सोमध्ये चालू खर्चतर्फ १२ करोड ६६ लाख ५ हजार रुपियाँ रहेको छ। त्यस्तै पुँजीगततर्फ ५५ करोड ९५ लाख ९४ हजार रुपियाँ रहेको छ। त्यसमध्ये वडास्तरीय योजना र कार्यक्रमका लागि ५ करोड ४० लाख रुपियाँ छुट्टयाइएको पनि नगरपालिकाले जनाएको छ।

‘नगरबासीले भोग्नुपरिरहेको सबैभन्दा ठूलो समस्या खानेपानीको समस्या हो। आर्थिक वर्षको बजेटको ठूलो हिस्सा खानेपानीको दिगो समाधानमा खर्च गर्ने लक्ष्य राखेका छौं।’ नगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो। उहाँले बजेट सन्तुलित र विकास केन्द्रित भएको भन्दै पहिलो वर्षमै नगरबासीले अनुभूत गर्ने गरी काम गर्ने बताउनुभयो। नगरपालिकाले ५ लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माणका लागि ६० लाख रुपियाँ, धारा वितरण परियोजनाका लागि सुन्दरीघाट पोखरी निर्माण, एचडीपी पाइप बिछ्याउने र पम्प स्टेसन निर्माण र खानेपानी ट्यांकर खरिदका लागि ३ करोड १० लाख रुपियाँ विनियोजन गरेको छ।

त्यसैगरी वडा नं ४ गाम्चामा खानेपानी पाइपलाइन विस्तार सुधार योजनाका लागि १२ लाख रुपियाँ, खानेपानी वितरण सुधार कार्यक्रमका लागि ३५ लाख रुपियाँँ, सिम जलाधार क्षेत्र संरक्षण कार्यक्रमका लागि २० लाख रुपियाँ, वडा नं ४ को राउटे भिरमा खानेपानी मुहान संरक्षण र उत्पादन वृद्धिका ड्याम निर्माणका लागि २ करोड रुपियाँ र बल्खु दिखु खोलामा ड्याम निर्माण गरी पानी संकलन गर्न १ करोड रुपियाँ विनियोजित गरिएको छ।

समृद्ध कीर्तिपुर कार्यक्रमअन्तर्गत नगर युवा स्वरोजगारका लागि १ करोड रुपियाँ, प्राविधिक शिक्षालय स्थापना, आईटी पार्कका लागि ३५ लाख रुपियाँ र प्रत्येक वडामा फ्रि वाईफाई जोनका लागि २ लाख रुपियाँ, नेपाल भाषा एकेडमीमा अध्ययन अनुसन्धानका लागि १० लाख रुपियाँ विनियोजित गरिएको छ।

त्यसैगरी सांस्कृतिक प्रवद्र्धनअन्तर्गत परम्परागत बाजागाजा, जात्रापर्व र गुठी सञ्चालन र अक्षयकोष स्थापनाका लागि ४० लाख रुपियाँ, पुरात्तात्विक सम्पदा संरक्षण्का लागि २५ लाख, प्राचीन पोखरी, ताल, दह संरक्षणका लागि २ करोड रुपियाँ विनियोजित गरिएको छ।

पर्यटक प्रवद्र्धन अन्र्तगत परम्परागतशैलीमा घर निर्माणका लागि अनुदान दिन १० लाख, पर्यटन सूचना केन्द्र बनाउन ५ लाख रुपियाँ, बसपार्क तथा सार्वजनिक शौचालय निर्माणका लागि ५० लाख रुपियाँ, होमस्टे प्रर्वद्धनका लागि १० लाख रुपियाँ, पर्यटन प्रर्वद्धनका लागि ५ लाख रुपियाँ, पर्यटन पूर्वाधार सम्भाव्यता अध्ययनका लागि २ लाख रुपियाँ विनियोजित गरिएको छ।

नगर विकास पूर्वाधार कम्पनीका लागि १ करोड रुपियाँ, किर्तिपुर नगर विकास परिषद् स्थापना र सञ्चालनका लागि २० लाख रुपियाँ, कीर्तिपुर नगर बस सञ्चालन गर्न ५० लाख, उपत्यका नगर बस शेयर लगानी गर्न ३५ लाख सवारी साधान मर्मतका लागि ६० लाख रुपियाँ, छाडा चौपाया व्यवस्थापनका लागि २० लाख रुपियाँ विनियोजित गरिएको छ।