आज केही स्थानमा विद्युत् कटौती



 

काठमाडौं, (नेस)
सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका अनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो।

केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ। यस्तै राजधानीका अन्य क्षेत्रमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रूपमा अवरोध आउनसक्ने प्राधिकरणले जनाएको छ। यस्तै काठमाडौंको बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारिरहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङ्खमूल क्षेत्र, बानेश्वर, कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्