सिकलसेलको अवस्था बुझ्न रगत संकलन

0
Shares

नेपाल समाचारपत्र, बाँके । थारु जातीमा मात्रै देखिएको सिकलसेल एनिमियाको अवस्था बुझ्न दुई ठाउँबाट रगतको नमूना संकलन गरिएको छ ।

बाँकेको टिटिहिरिया र बैजापुरबाट चार सय दश जनाको रगत संकलन गरिएको छ । थारु समुदायको बाक्लो बस्ती रहेको यी दुई गाउँमा पुगेर जिल्ला जनस्वास्थ्य कार्यालयलगायतको टोलीले रगत संकलन गरेको हो । बैजापुर र टिटिहिरियाबाट संकलन गरिएको ‘स्याम्पल’ परीक्षणका लागि भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा राखिएको छ । भेरीमा रहेको सिकलसेल जाँच्ने मेसिन बिग्रेकाले तत्काल नमूना परीक्षण हुन सकेको छैन । प्राविधिक प्रदीप वलीका अनुसार, मेसिन बनाउने काम भइरहेको छ । संकलित नमूना परीक्षण गर्न हप्ता दिन लाग्न सक्छ ।

प्राविधिक वलीले गाउँ÷गाउँबाट संकलन गरेर ल्याइएका ४ सय १० र अस्पतालमा नियमित आउने केहीको स्याम्पल जाँचको लाइनमा रहेको छ । एउटा नमूना संकलन ५ देखि १२ मिनेट लाग्छ । भेरीले दिनमा ५० वटा स्याम्पल परीक्षण गर्ने गरेको छ । चार दिनदेखि मेसिन बिग्रेकाले काम रोकिएको छ । भेरीमा जडान गरेको एक वर्षमै मेसिन बिग्रेको छ ।

मेसिन बनाउन प्राविधिक आइसकेका छन् । चितवनदेखि पश्चिम कञ्चनपुरसम्मका थारु समुदायमा सिकलसेल एनिमिया रोग देखिएको छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर जिल्लाका भूमिपूत्र मानिने थारुहरु विगतमा औलो रोगसँग प्रतिस्पर्धा गरेर बसेका थिए । त्यतिबेला औलोबाट मर्ने मरिहाले, बाँचेका जतिलाई सिकलसेल भएको जानकारहरु बताउँछन् ।  सिकलसेललाई जनस्वास्थ्यकै समस्याको रुपमा लिएर सरकारले नेपालगञ्जको भेरी र धनगढीस्थित अस्पतालमा रगत जाँचका साथै निशुल्क औषधीको व्यवस्था मिलाएको छ ।

सिकलसेल जाँचपछि स्थानीय निकायको सिफारिस गरेर आउनेलाई एक लाखसम्मको औषधी निशुल्क दिने व्यवस्था मिलाइएको हो । सिकलसेल बंशाणुगत रोग हो । पुर्खादेखि सर्दै आएको यो रोग नेपालमा पत्ता लागेको धेरै भएको छैन । रोग पत्ता नलाग्दा र गाउँकै धामीझाक्रीको भर पर्दा धेरै जनाले अकालमै मृत्युवरण गरेको सम्बद्धहरु बताउँछन् । भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा फिजिसियन डा. राजन पाण्डेले सिकलसेलका बिरामीलाई हेरिरहेका छन् । सिकलसेलको निशुल्क औषधी उपचार हुन्छ भन्ने जनचेतना थारु गाउँगाउँमा पुग्न सकेको छैन ।

पहिलो पटक दुई वटा थारु बस्तीमा पुगेर प्राविधिकले ल्याएको चार सय १० वटा स्याम्पलले यहाँको अवस्था झल्किने जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन रामबहादुर चन्दले बताउनुभयो । सिकलसेलका बारेमा थारुबस्तीका जनप्रतिनिधिहरुलाई जनचेतना फैलाउन आग्रह गरिएको छ । सिकलसेलबाट अहिलेसम्म कतिको मृत्यु भन्ने यकिन छैन । सिकलसेल हुने तर अर्कै औषधी खाएर ज्यान गुमाउने क्रम घट्दै गएको डा. पाण्डेको बुझाई छ ।