साउदी अरेबियाद्वारा कतारलाई अल्टिमेटम


 

रियाद, (एजेन्सी)
साउदी अरेबिया र अन्य तीन वटा अरब मुलुकले सोमबार तोकिएका केही मागहरू ४८ घण्टाभित्र पालना गर्न वा थप नाकाबन्दी सामना गर्न तयार रहन चेतावनी दिएका छन्। यसअघि अल जाजिरा न्युज नेटवर्क बन्द गर्नेलगायतका १३ वटा मागसहितको कतारलाई दिइएको अल्टिमेटमको समयसीमा आइतबार सकिएको थियो।

आफूले आतंकवादमा आर्थिक लगानी र सहयोग गरिनरहेको बताउँदै आएको खाडी मुलुक कतारले आफूले सोमबारसम्ममा यससम्बन्धी औपचारिक प्रतिक्रिया दिने जनाएको थियो। तर, कतारले यी माग अन्तर्राष्ट्रिय मान्यता र कानुनविपरीत भएको जनाएको छ।

कतारका अमिरले दिएको पत्र लिएर कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जास्सिम अल–थानीको सोमबार कुवेत पुग्ने कार्यक्रम रहेको थियो। कुवेतले खाडी समस्या समाधानका लागि प्रमुख मध्यस्थताको भूमिका निभाइरहेका छन्।
शनिबार विदेशमन्त्री शेखले कतारले ती मागहरू अस्वीकार गरेको र बरु उचित परिस्थितिभित्र हेरर वार्ता थालनी गर्न तयार रहेको बताएका थिए। हप्तौंदेखि साउदी अरेबिया र त्यसका गठबन्धन मुलुकहरू इजिप्ट, संयुक्त अरब इमिरेट्स र बहराइनले अप्रत्यासित ढंगले कतारसँगको कूटनीतिक सम्बन्ध त्यागेका छन्। उक्त मागमा कतारलाई इजिप्टको प्रतिबन्धित इस्लामिक मुस्लिम ब्रदरहुद पार्टीसँगको सम्पूर्ण सम्बन्ध त्याग्नुपर्ने पनि उल्लेख गरिएको छ।