क्यानडा दिवस मनाइयो

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले राजधानीमा एक कार्यक्रमको आयोजना गरी १५०औं क्यानडा दिवस मनाएको छ। संघले विगत चार वर्षदेखि दुवै देशको जनस्तरीय सम्बन्ध विस्तार गर्न निरन्तर यसै गरी क्यानडा दिवस मनाउँदै आएको छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलविद्युत्, पर्यटन र व्यापारका माध्यमबाट क्यानडासँग सम्बन्ध बढाएर फाइदा लिन सकिने धारणा राख्नुभयो। उहाँले नेपाल विश्वकै आकर्षकस्थल भएकाले क्यानडाबाट सिक्न लायक कुरा सिक्नुपर्ने र पन्छिनुपर्ने कुरामा समयमै पन्छिँदा राम्रो हुने बताउनुभयो। साथै, उनले महाकाली सन्धि गर्दा क्यानडालाई सन्दर्भ मानेको स्मरण गर्नुभयो।
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठले क्यानडामा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको सुन्दा आम नेपाली महिलाका लागि प्रेरणाको विषय भएको बताउनुभयो। काठमाडौं महानगरपालिकाले धुलो र धुवाँरहित हराभरा महानगरपालिका तथा यहाँको सम्पदाहरु निर्माण गर्न सबैको सहयोग रहनुपर्ने तर्क उहाँको थियो।

संघका पूर्वअध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपालले क्यानडाबाट लिन सक्ने फाइदा धेरै भएको र क्यानडाले नेपालमै राजदूतावास राख्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार क्यानडाले दिल्ली र बेइजिङका आँखाबाट नेपाललाई हेर्नुहुँदैन भन्नुभयो।
नेपालस्थित क्यानडाका अवैतनिक कन्सुलर डा. बुद्ध बस्नेतले भूकम्पयता मात्र क्यानडाले विभिन्न स्रोतबाट ५२ लाख डलर सहयोग दिएको बताउनुभयो। उहाँले क्यानडा दिवसका दिन त्यहाँको सरकारले सार्वजनिक बिदा नगर्नुको कारण श्रममा विश्वास गर्नु रहेको प्रसंग सुनाउनुभयो।

क्यानडास्थित नमस्ते रेडियोका संस्थापक सभापति अनिल थापाले क्यानडामा नेपाली भाषा बोल्ने ५० हजार रहेको र त्यसमध्ये १८ हजार नेपाली क्यानडामा बसोबास गरेको जानकारी दिनुभयो। उहाँले क्यानडाले वैदेशिक सहयोगभन्दा पनि वैदेशिक व्यापार बढाउने नीति लिएको र भूकम्पपछि नेपाललाई सक्दो सहयोग गरेको स्मरण गराउनुभयो।

नेपाल पर्वतारोहरण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पर्वतीय पर्यटन र वातावरणका क्षेत्रमा क्यानडेली नागरिकको विशेष योगदान रहेको बताउनुभयो। संघका अध्यक्ष प्राडा प्रदीप खड्का, महासचिव प्राडा श्रीधर गौतम, सदस्य प्राडा गोपाल पोखरेललगायतले क्यानडा र नेपालको हावापानी, जनसंख्या, संघीयता, बहुसंस्कृतिजस्ता विषयमा समानता रहेको चर्चा गर्नुभयो।