जग्गा बाँझो राख्न पाइँदैन ­ः नवनिर्वाचित मेयर

0
Shares

 

नेपाल समाचारपत्र
बाजुरा
बाजुराको बडिमालिका नगरपालिका नवनिर्वाचित नगरप्रमुख पदम बडुवालले अब बडिमालिका नगर क्षेत्रको कुनै पनि खेतीयोग्य जमिन बाँझो नरहने बताउनुभएको छ। ‘हामी जहिले पनि परनिर्भर रहन्छौं तर, आफ्नो जमिन बाँझो राख्छौं। जमिन बाँझो राख्दा गरीबी झन् बढ्ने भएकाले समृद्ध बडिमालिकाका नागरिकलाई आत्मनिर्भर बनाउन पहिलो आधुनिक खेती प्राणालीको विकास गरिनेछ।’ –उहाँको भनाइ थियो। शुक्रबार साँझ नागरिकका नाममा मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएर बडिमालिका नगरपालिका मेयर पदको पदभारण ग्रहणपछि पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो।

‘हामीसँग पर्याप्त मात्रामा जल, जमिन र जंगल छ। कहाँ के फल्छ? हामी सबैलाई थाहा छ। त्यसलाई परिमार्जित रुपमा व्यावसायिक खेती गर्न मात्र समस्या छ। असिञ्चित ठाउँमा सिँचाइको व्यवस्था, बिउ नपुगेको ठाउँमा बिउको व्यवस्था र दक्ष जनशक्ति नपुगे कृषकको खेतबारीमै अनुगमन गर्न दक्षजनशक्ति पठाउने नीति लिन्छौं। तर, कृषकले आफ्नो जग्गा बाँझो राख्न पाइनेछैन। आलु पिँडालु फल्ने ठाउँमा आलु पिँडालु खेती, कोदो फल्ने खेतमा कोदो, तरकारी हुने ठाउँमा तरकारी र घाँस हुने ठाउँमा खेती गर्न लगाइनेछ।’ –उहाँको भनाइ थियो।